जनादेश सोसल मिडिया वाच ।
हाल उपचारका लागि दिल्ली रहेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अति नगर्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् ।
अबको संकट समाधान गर्ने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीको भएको बताउँदै बाबुरामले शक्ति छ भन्दैमा अति गरे खति हुने चेतावनी पनि दिएका छन्।
‘प्रमको कुर्सीमा बसेर म कसैलाई टेर्दिनँ, जानेको/सकेको गर भन्ने दम्भ/हठ प्रदर्शन गर्न मिल्दैन,’ डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हलो अड्काएर गोरु चुट्नु कुनै पौरख हैन। बिगार्न जसले पनि सक्छ, सपार्ने पो नेता !’
उनले अगाडि लेखेका छन्, ‘अदालतको फैसलाले सबैलाई गम्भीर बनेर संकटमोचन गर्ने अवसर दिएकोछ। निकास खोज्ने मुख्य जिम्मा प्रमको हो !अतिले खति गर्छ !’
प्रमको कुर्सीमा बसेर म कसैलाई टेर्दिनॅ,जानेको/सकेको गर भन्ने दम्भ/हठ प्रदर्शन गर्न मिल्दैन।हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन।बिगार्न जसले पनि सक्छ;सपार्ने पो नेता!अदालतको फैसलाले सबैलाई गम्भीर बनेर संकटमोचन गर्ने अवसर दिएकोछ!निकास खोज्ने मुख्य जिम्मा प्रमको हो!अतिले खति गर्छ!
— Baburam Bhattarai (@brb1954) February 28, 2021
प्रधानमन्त्री ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन घोषणा गरे पनि यही फागुन ११ गते सर्वोच्च अदालतले बदर गरिदिएको हो।
त्यसयता विभिन्न दलले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा पदबाट राजीनामा गर्नुपर्ने माग गरिरहेका भए पनि ‘ओलीले राजीनामा दिन्नँ, हटाएर देखाऊ’ भन्दै अडान लिइरहेका छन्।
केही दिनपछि संसद बैठक बस्ने तयारी गरिरहेको छ । विगतका संसद विघटन र पुनःस्थापनापछिका अधिवेशनभन्दा यो संसद अधिवेशन फरक देखिन्छ। पुनःस्थापित यो संसदमा नेता र दलहरु नैतिक, राजनीतिक, संवैधानिक र कानुनी संकटमा जेलिएका छन्।
प्रधानमन्त्री परिवर्तन र नयाँ सरकार गठन प्रक्रियामा कसरी अघि बढ्ने भन्ने स्पष्ट मार्गचित्र बताउन सकको छैन । प्रधानमन्त्रीले राजीनामा नदिएको, पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगले नटुंग्याएका कारण सबै पक्ष अलमलमा छन् ।