जनादेश अपडेट ।
संसद बैठक बस्ने दिन नजिकिँदै जाँदा राजनीतिक माहोल तातेको छ । प्रधानमन्त्री केपी ओलीको विकल्पमा सरकार बनाउने प्रयासमा रहेको नेकपा प्रचण्ड-माधव समूहले पनि त्यसका लागि अन्तिम पहल थालेको छ ।
प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दै छ। बैठकमा संसद् पुनःस्थापनापछि विकसित राजनीतिक घटनाक्रम तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।
संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै बदर गरेपछि प्रचण्ड–नेपाल पक्ष नयाँ सरकार गठनका लागि अन्य दलसँग समीकरण निर्माणको कोसिसमा छ।
आजको बैठकमा केन्द्रीय सदस्यलाई नागरिकता र परिचयपत्रसहित सहभागी हुन निर्देशन दिइएको छ । नेकपाले आज (बुधबार) दिउँसो १ बजे पेरिसडाँडा (केन्द्रीय कार्यालय) मा अनिवार्य उपस्थित हुन भनेको हो।
किन मागियो नागरिकता र परिचयपत्र
राजनीतिक रूपमा नेकपा विभाजित भए पनि निर्वाचय आयोगले निर्णय नगरेकाले कुन दल आधिकारिक भन्ने अन्योल छ। आयोगमा आधिकारिकता पुष्टिका लागि आवश्यक परे कागजातसमेत पेस गर्नुपर्ने भएकाले आजको बैठकमा नागरिकता र पार्टी सदस्यताको परिचय पत्र बोकेर आउन भनिएको हो ।
यसअघि पनि यही फागुन ७ गते उसले आफ्ना सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित पेरिसडाँडामा भेला गराएको थियो। त्यसदिन केहीबेर अनौपचारिक बैठक बसेर सबै केन्द्रीय सदस्यलाई केही दिन काठमाडौं नछाड्न निर्देशन दिइएको थियो।
त्यसको ११ दिनपछि नेकपाले फेरि आफ्ना केन्द्रीय सदस्यलाई पार्टीको परिचयत्र र नागरिकतासहित आज केन्द्रीय कार्यालयमा बोलाएको हो। गत सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको उसको सचिवालय बैठकको निर्णयअनुसार आज (बुधबार) दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको हो।
यसैका लागि आफ्ना सबै केन्द्रीय सदस्यलाई बोलाइएको नेकपा प्रचण्ड–नेपाल पक्षका एक नेताले जानकारी दिए । यस्तै यसअघि आजै बिहान ११ बजे स्थायी कमिटी बैठक पनि बस्ने नेकपा नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद् विघटनका लागि सिफारिस गर्ने निर्णय गरेलगत्तै औपचारिक रूपमै नेकपाका दुई समूह विभाजन भएका हुन्। त्यसयता ओली र प्रचण्ड–नेपाल पक्षका रूपमा अलग्गिएका उनीहरूले आआफ्ना बैठक र भेला गरिरहेका छन्।
दुवै पक्षले आफू आधिकारिक दल (नेकपा) भएको दाबी गरे पनि निर्वाचन आयोगले अहिलेसम्म निर्णय नगरिदँदा अन्योल कायमै छ। प्रचण्ड–नेपाल पक्षले गत माघ २० गते नै बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर पेस गरिसकेको भए पनि आयोगले अझै निष्कर्ष दिएको छैन।
यो पनि हेर्नुस्-
बामदेवसँग ओलीले भने- प्रचण्डलाई प्रधानमन्त्री छोड्न तयार छु तर…
नेकपाको विवाद एकअर्कालाई सिध्याउने तहमा, के के हुनसक्छ
विप्लव-बादल वार्ता आजः को थियो वार्ताको सुत्राधार, कहिले सार्वजनिक हुन्छन् विप्लव !