जनादेश अपडेट ।
संसद बैठक बस्ने दिन नजिकिँदै गर्दा सत्ता समीकरणका लागि राजनीतिक माहोल तात्दै गएको छ । आज नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समूहले सबै सांसदलाई पार्टी कार्यालय पेरिसडाँडामा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।
देशको पछिल्लो राजनीतिक घटनाक्रमसँगै सांसदहरुले समूह बदल्ने क्रम बढेको अवस्थामा प्रचण्ड–माधव पक्षले सांसदहरुलाई बिहीबार दिउँसो १२ बजे अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको सो पक्षका सांसद मेटमणि चौधरीले जानकारी दिए। हिजोको स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी तथा २३ गतेको संसद बैठकमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी दिन सांसदहरुलाई पार्टी कार्यालय बोलाइएको हो ।
कांग्रेस पदाधिकारी पनि बस्दै
उता, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारी बोलाएका छन् । संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा बनाउन दिउँसो २ बजे बूढानीलकण्ठस्थित निवासमा बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । पार्टी पदाधिकारी तथा शीर्षस्थ नेताहरुबीच छलफल गरेर शुक्रबारको संसदीय दलको बैठकबाट संसदमा पार्टीको भूमिकाबारे नीति तय गर्ने बुझिएको छ ।
सरकारमा सहभागिताबारे पार्टीमा दुई मत बाहिर आएपछि देउवाले संसद पुनःस्थापनापछि दोस्रो पटक पदाधिकारी बैठक बोलाएर छलफल गर्दैछन् । १३ गते बसेको पदाधिकारी बैठकले नेकपा विभाजनको प्रष्टता नहुने तटस्थ बस्ने निष्कर्ष निकालेको थियो । तर संसदमा सरकार गठनको प्रक्रिया सुरु नहुँदै नेताहरु पक्ष विपक्षमा विभाजित हुन थालेपछि देउवाले छलफललाई जोड दिएको बुझिएको छ । सभापति देउवा सरकारको नेतृत्व गर्नुपर्ने अवस्थामा त्यसबाट भाग्न नहुने पक्षमा देखिए भने पौडेलले प्रतिपक्षमै रहेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
यो पनि हेर्नुस्- यी ३ परिघटनाले गर्छ ओली सरकार ढल्न लागेको संकेत, देउवा र ओलीको फेरिएको बोली
सरकार ढल्ने भएपछि ओलीलाई विप्लवसँग सहमतिको हतारो, एक एजेण्डामा अपत्यारिलो लचकतामा