माधव नेपाल र झलनाथलाई खगेन्द्र संग्रौलाको झटारोः हैट्, लिच्चडमति ! – Janadesh Daily | ePaper

माधव नेपाल र झलनाथलाई खगेन्द्र संग्रौलाको झटारोः हैट्, लिच्चडमति !


जनादेश सोसल मिडिया वाच ।

केपी ओली नेतृत्वको एमालेमै रहने कि विद्रोह गर्ने भन्ने दोधारबाट गुज्रिरहेका एमाले बरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनालको अवस्थाप्रति विश्लेषक एवं लेखक खगेन्द्र संग्रौलाले व्यङ्ग्य गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा खगेन्द्रले ओलीसँग विद्रोह गर्न नसक्नु सांसद पदको लोभ देखाउनु भएको टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘एमालेकाे माधव-झल गुट न ओल्लाे घाट न पल्लाे तीरकाे!यसका दुई विकल्प-कि ओली प्रवृत्तिकाे चरणमा आत्मसमर्पण कि गए सांसदकाे जागिर जाओस् भनेर विद्राेह।आत्मसमर्पण पनि गर्दिनँ,सांसदकाे जागिर पनि छाड्दिनँ भन्नु बरू आत्मसमर्पण गर्छु,सांसदकाे जागिर मरिगए छाड्दिनँ भन्नुसरह हाे।हैट्,लिच्चडमति!’

सर्वोच्च अदालतले नेकपाको एकता भंग गरिदिएपछि एमालेभित्र ओली र माधव-झलनाथ समूह गरी दुई समूहहा विभाजित गुट सक्रिय छन् ।

गत चैत ७ गते बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसँगै स्थायी कमिटीका नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेको भन्दै ओली पक्षले माधव पक्षका नेताहरूलाई कारवाही किन नगर्ने ? भन्दै तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्रमा नेता नेपाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर पार्टी फुटाउन खोजेको आरोप लगाइएको छ ।

महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपालसहित चार जना नेतालाई स्पष्टीकरण दिन पत्राचार गरेका थिए । ओली पक्षले माधव नेपाल समूहलाई कारवाहीको चेतावनी पनि दिइसकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्