अब एमालेको फुट टार्न असम्भव, यी हुन् अबका सम्भावित परिघटना – Janadesh Daily | ePaper

अब एमालेको फुट टार्न असम्भव, यी हुन् अबका सम्भावित परिघटना


जनादेश विश्लेषण ।

नेकपा एमाले अब एक नरहने निश्चित जस्तै भएको छ । स्पष्टीकरण माग्ने र दिनेहरू दुवै पक्षका भाषा हेर्दा उनीहरू अब एकै पार्टीमा रहने सम्भावना लगभग अन्त्य भएको छ ।

करिब ५० वर्ष लामो सहकार्य गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल चार महिनाको बीचमा दोस्रो पटक सम्बन्ध बिच्छेदको अवस्थामा पुगेका हुन् ।

एमालेभित्र ओली र नेपाल पक्षबीच विवाद चर्किदै जाँदा धमाधम भ्रातृ संगठनका समानान्तर कमिटी गठन गरिएका छन् । युवा, महिला र विद्यार्थी संगठनका अलग्गै नेतृत्व चयन गरी गतिविधिसमेत सुरु भइसकेका छन्।

दुवै पक्षले आफूअनुकुल पार्टीका जनवर्गीय तथा पेसागत संगठनको नेतृत्व चयन, विस्तार र गतिविधि सुरु गरेका हुन्। यस्ता थप संगठनको भेला गरी आआफ्नै कमिटी बनाउने तयारीमा दुवै पक्ष छन्।

नेकपा माओवादी केन्द्रसँग एकीकरण हुनुअघिसम्म एमालेका भ्रातृ संगठन युवा संघ नेपाल, अखिल नेपाल महिला संघ र अनेरास्ववियु प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीनिकटको नेतृत्वमा थिए।

तर सर्वोच्च अदालतले नेकपा एकता भंग गर्दै यही फागुन २३ गते पुरानै दुई पार्टी पुर्स्थापनाको फैसला गरेयता एमालेभित्र ओली र नेपाल पक्षबीच चर्को द्वन्द्व सुरु भएको हो। खासगरी अध्यक्ष ओलीले फागुन २८ गते आफूनिकट केन्द्रीय सदस्यको मात्र बैठक राखेर नेपाल–खनाल पक्षका सबै नेताका पद र जिम्मेवारी खास्दै गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाएपछि विवाद उत्कर्षमा पुगेको हो।

पार्टीले सोधेको स्पष्टीकरण माधव नेपालले दिएनन् । बरु उल्टै ओलीसँग स्पष्टीकरण माग्दै संगीन आरोप लगाएका छन् । पार्टी र सरकार दुवैमा झनै शक्तिशाली हुँदै गएका अध्यक्ष ओलीले अब माधव नेपालहरुलाई पार्टीबाटै निकाल्ने अन्तिम तयारी गरेका हुन् ।

ओली नेतृत्वको सरकार टिकाउन एमाले र जनता समाजवादी पार्टीबीचको सहकार्यको सम्भावना बढेको छ भने अर्कोतर्फ पार्टीभित्र विधान संशोधन गरेर सबै अधिकार आफूमा केन्द्रित गर्न ओली सफल भएका छन् । ओली नेतृत्वको सरकारले विश्वासको मत लिएमा र जसपाले समर्थन गरेमा एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइँदैन ।

अब के हुन्छ ?
एमालेले माधव नेपालमाथि थप कारबाहीको प्रक्रिया अघि बढाउने जानकारी बालुवाटार श्रोतले दिएको छ । एमालेमा फर्किएपछि पनि माधव नेपालले प्रचण्डसँग गरेका लगातारका भेटवार्ता र बिहीबार कोटेश्वरमा एक व्यापारीको घरमा भएको बैठकले ओली थप चिढिएका छन् ।

आफू पार्टी विभाजनको पक्षमा नरहेको तर ओलीले कारबाही गरे पार्टी फुटाउन बाध्य हुने माधव नेपालको भनाई छ । एमाले आफूहरूको भएको र केपी ओलीले जालझेल गरेर कानुनी रुपमा कब्जा गरेमात्र विचार गर्ने बताएका छन् । यसको अर्थ दुई तीन महिना तलैसम्म भेलाहरू गरेर आफ्नो पक्षका कमिटी तयार पार्ने र एकैपट फुटाएर नयाँ दल गठन गर्ने माधव नेपालको रणनीति हो ।

कारबाही लगत्तै पनि उनले पार्टी फुटाउँदैनन् । संसदीय दलको बैठकमा जाने र पार्टीमा फरक संगठन चलाउने उनको रणनीति छ । तर अविश्वास प्रस्ताव आएमा वा ओलीले विश्वासको मत लिने स्थितिमा सांसद पद जोखिममा पारेर भनेपनि फ्लोर क्रस गर्न माधव नेपाल पक्ष तयार छ ।
त्यतिमात्र होइन नेकपाको एकता व्युउँताउने र पुनः ओलीविरुद्ध आक्रामक बन्ने पनि माधव नेपाल पक्षको रणनीति छ । जसका लागि शुक्रबार माओवादी केन्द्र र एमालेका नेताहरु पुनरावलोकन निवेदन लिएर अदालत जाँदैछन् ।

नेताहरुले मायाँ मारे

एमालेमा पुनर्मिलनका लागि दुवै पक्ष वा दुई मध्ये एउटा पक्ष आफ्नो अडानबाट पछि हट्नु अनिवार्य छ । तर तत्काल यी दुवै सम्भावना देखिँदैनन् ।

माधव नेपाल पक्षमा रहेका नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन हरसम्भव प्रयास गरिनुपर्ने बताएका छन्। थोरै पनि लचकताबाट यो सम्भव रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

अतिवाद र अस्थिरताले के सम्म गर्छ भन्ने कुरा निकट विगतलाई सम्झे मात्रै पुग्ने उनले बताएका छन्।

‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभव कोशिस गरौँ। थोरै पनि लचकताबाट यो संभव छ । बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौँ पछि धकेल्ने छ। अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ’, भट्टराईले ट्विटरमा लेखेका छन्।

पछिल्ला गतिविधिले एमाले विभाजन नजिक पुगेको उनको आशय छ। एमाले विभाजन भएपछि हुन नोक्सानीले मुलुकलाई दशकौँपछि धकेल्ने चेतावनी पनि उनले दिएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्