जनादेश सोसलमिडिया वाच ।
विभाजनको संघारमा रहेको एमालेभित्र दुई गुटका नेताहरुबीच चर्को जुहारी चलिरहेको छ । एमालेभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष र वरिष्ठ नेता माधवकुमार नेपालको समूहबीच जुहारी चलिरहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेरि तीखो टिप्पणी गरेका छन्।
नेपाल पक्षका नेता योगेश भट्टराईले आफूबराबर वा वरिष्ठनसँग वादविवाद गर्दा केही सिक्ने मौका पाइने तर कनिष्ठसँग बहस गर्नु समयको नास र दिमाग खराब गर्नु मात्र हो भनेर ट्विट गरेका थिए । त्यसको भोलिपल्ट आइतबार राति प्रेस सल्लाहकार थापाले पनि सामाजिक सञ्जालमार्फत नै जेठो उमेरका मानिसले आफूलाई जेसुकै ठाने पनि धेरैको हैसियत आफूलाई थाहा भएको टिप्पणी गरेका हुन्।
साथै उनले मै हुँ भन्नेहरूलाई हराउन थोरै भए पनि योगदान दिन सकेकामा गौरव लागेको पनि उल्लेख गरेका छन्। यद्यपि दुवैले कसैको नाम लिएका छैनन्।
‘पहिले जन्मेका मानिसहरूले आफूलाई जेसुकै ठान्न सक्छन्। तीन दशकमा धेरैका अनेक हैसियत र भूमिका भोगिएको छ। २०५५–०५८ र २०७७ पुस ५ यता पनि हुबहु र छर्लङ्ग देखिएको छ,’ थापाले लेखेका छन्, ‘दुवैपटक स्वार्थी, खराब र मै हुँ भन्ने तत्त्वहरूलाई पराजित गर्न रौं बराबर भए पनि योगदान गर्न सकेकामा गौरवबोध छ।’
योगेश भट्टराईलाई यस अघि पनि सूर्य थापाले दुई वटा प्रश्न गरेका थिए । शनिवार सामाजिक सञ्जाल ट्विटरमा थापाले नेता भट्टराईको ट्विट शेयर गर्दै दुई वटा प्रश्न गरेका हुन् । सामाजिक सञ्जालमा नेता भट्टराईले नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभव कोशिस गर्नुपर्ने र थोरै पनि लचकताबाट यो सम्भव हुने कुरा बताएका थिए । त्यसमा सूर्य थापाले जवाफ दिएपछि योगेशले हैसियतको कुरा उठाएका थिए ।
बादविबाद पनि आफु समान वा आफुभन्दा सिनियर र जान्ने सुन्नेसँग गरियो भने फाईदा हुन्छ किनकी आफुले केही सिक्के मौका पाईन्छ । बेकारकासँग त समयको बर्बाद र दिमाग खराब मात्रा हो ।
— Yogesh Bhattarai (@yogesbhattarai) March 27, 2021
त्यसपछि योगेशले हैसियतको कुरा उठाउँदै विवाद र बहस आफू समानकासँग गर्न उपयुक्त हुने बताएका थिए ।