जनादेश वाच ।
मंगलबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले रुकुम पश्चिमको सदरमुकाममा जनसभा आयोजना गर्यो । जनयुद्धको आधार क्षेत्रमा पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हेर्न जिल्लाका विभिन्न स्थानबाट हजारौंको संख्यामा नागरिकहरु खलंगा पुगेका थिए ।
सभामा प्रचण्डले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्री बनाएकोमा पश्चाताप व्यक्त गरे भने अब गाउँमा बढी र काठमाडौंमा कम बस्ने बताए ।
अध्यक्ष प्रचण्डले बादललाई अगुवा जिम्मेवारी दिएकोमा पश्चाताप व्यक्त गरे र भने, ‘मलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएँ, सायद गल्ती गरेँ,’ उनले भने, ‘जनआधार नभएकालाई स्थायी कमिटी बनाएँ । ती अहिले बिकाउ माल भए ।’
प्रचण्डले पार्टीमा योगदान भएकालाई अन्याय भएको महसुस गरेको बताउँदै उनले अब त्यस्तो गल्ती नगर्ने समेत बताए । उनले भने, ‘अब म त्यस्तो गर्दिनँ । म हिजो युद्धमा इमान्दारिताकासाथ लागेका जनता र कार्यकर्तालाई नै अगाडि बढाउन संकल्प गर्न चाहन्छु ।’
माओवादीका स्थायी कमिटी सदस्य जनार्दन शर्माले नागरिकले नेता सच्चाउने बेला आएको बताए । नेताले गल्ती गरेमा नागरिकले खबरदारी गर्ने र गलत कामको भण्डाफोर गर्ने अधिकार पाएको भन्दै उनले आफूले गल्ती गरेमा नागरिकको बीचमा माफी माग्न तयार रहेको पनि बताए ।
३२ औँ जनआन्दोलन दिवसका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुकुम पश्चिमले रुकुम सदरमुकाममा आयोजित आर्थिक समृद्धि, सामाजिक, साँस्कृतिक रूपान्तरणका लागि जन प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्व गृह मन्त्रीसमेत रहेका शर्माले भ्रष्टाचारका विरुद्ध नागरिक जाग्न आह्वान समेत गरे ।
पार्टी अध्यक्ष प्रचण्डले विकास गरेको समाजवादको दिशालाई रुकुमबाट लागू गर्ने शर्माले उल्लेख गरे ।
रुकुमको सभामा नेता कार्यकर्ताले अध्यक्ष प्रचण्डसहितका नेताहरुलाई खवरदारी गरेका थिए । जनताबाट टाढिँदा राजनीति गर्न कठिन हुने भन्दै उनीहरुले भुइँभान्छेको आड लिएर खुट्टा टेक्न आग्रह समेत उनीहरुले गरेका छन् ।
सामाजिक सञ्जालमा प्रचण्डका शुभचिन्तक लोकेन्द्र आरसीले लेखेका छन्, खुट्टा आफ्नै टेक प्रचण्ड ! यो जनसागर हामी सप्पैको टेक्ने जमिन हो । तिमिलाई हिरो बनाउने यिनै भुँईमान्छे हुन -हिजो,आज र भोलि पनि । शहरका सुकिला मुकिला त केवल भ्रम मात्र हुन । यिनै जनताको कम्फर्टेवल नेता बन। सबै शक्ति केन्द्र तिम्रो पछि लाग्नेछन । तिमि कहिल्यै शक्तिकेन्द्रको पछि लाग्नु पर्दैन ।तिमि जनताको कम्फर्टेवल बन्ने कि शक्तिको ? आगे कमरेडको मर्जी ! !’
खुट्टा आफ्नै टेक प्रचण्ड ! यो जनसागर हामी सप्पैको टेक्ने जमिन हो । तिमिलाई हिरो बनाउने यिनै भुँईमान्छे हुन -हिजो,आज र…
Posted by लोकेन्द्र आर.सी. on Tuesday, 6 April 2021
नेकपा माओवादी केन्द्रले जनआन्दोलन दिवसको अवसर पारेर पश्चिम रुकुममा जनसभा आयोजना गरेको हो । सो सभालाई ‘आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणका लागि जनप्रशिक्षण कार्यक्रम’ नाम दिइएको थियो । सभामा हजारौं नागरिकको उपस्थिति थियो ।
रुकुमको सभामा जनसहभागिता देखेर उत्साहित भएका माओवादी समर्थकहरुले नेताहरुलाई गाउँ फर्किन आग्रह गरिरहेका छन् । सामाजिक सञ्जालमा प्रचण्ड रुकुम पुगेका तस्विरहरु पनि भाइरल बनेका छन् । रुकुम जनयुद्धको आधार क्षेत्र मानिन्छ । प्रचण्ड भोलिसम्म रुकुम रोल्पा लगायतका क्षेत्रमै रहने छन् ।