जनादेश, काठमाडौँ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रस्ताव आउन लागेको बेला सभाको चालु अधिवेशन अन्त्य गरिएपनि माओवादी केन्द्र र नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव ल्याएका हुन् ।
विपक्षी दलले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेसँगै मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङले अधिवेशन अन्त्यको सिफारिस गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका छन् ।
तर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव भने अघि बढेको छ । अविश्वासको प्रस्ताव दर्ता भएको ३० दिन भित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ ।
गण्डकीमा माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा मिलेर नयाँ सरकार बनाउन लागेका छन् । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ ।
अविश्वासको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । तीन प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाले प्रस्तावको पक्षमा मतदान गर्नेछन् ।
ब्ब