जनादेश सोसल मिडियावाच ।
जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अर्काको स्वार्थ सिद्ध गर्नका लागि पार्टी विभाजनको बाटोमा नलाग्न अपिल गरेका छन् ।
आफ्ना पार्टीका नेतालाई संविधान मास्न खोज्ने शक्तिको मतियार नबन्न आग्रह गर्दै बाबुरामले नेपालको संविधान आधा भरी आधा खाली गिलास भएको र आफूहरु पूरै भर्न हिँडेको सम्झाएका छन् ।
अहिले पूरै खाली गर्न खोज्ने शक्तिको मतियार आफ्नो पार्टी बन्न नसक्ने भन्दै बाबुरामले सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेको छन्, ‘जसपाका नेता साथीहरूको स्मरणार्थ : यो संविधान आधा भरी आधा खाली गिलास भन्दै पूरै भर्न हिडेँका हामी पूरै खाली गर्ने शक्तिका मतियार बन्न सक्दैनौं।’
बाबुरामले जसपा कुनै क्षेत्र तथा जाति विशेषको पार्टी नभई हिमाल, पहाड तथा मधेस जोड्ने बैकल्पिक शक्ति रहेको पनि स्मरण गराएका छन् ।
‘जसपा हिमाल/पहाड/मधेस जोड्ने वैकल्पिक शक्ति हो,’ उनले भनेका छन्, ‘कुनै एक क्षेत्र/जातिमा सीमित पुरानैको डुप्लिकेट हैन।’
त्यसैगरी जसपाको कसैको इसारमा नचल्ने बताउँदै उनले अगाडि लेखेका छन्, ‘हामी सबैका मित्र हौं, कसैका दास हैनौं!’
जसपाका नेता साथीहरूको स्मरणार्थ:१.यो संविधान आधा भरी आधा खाली गिलास भन्दै पूरै भर्न हिॅडेका हामी पूरै खाली गर्ने शक्तिका मतियार बन्नसक्दैनौं;२.जसपा हिमाल/पहाड/मधेस जोड्ने वैकल्पिक शक्ति हो कुनै एक क्षेत्र/जातिमा सीमित पुरानैको डुप्लिकेट हैन;३.हामी सबैका मित्र हौं कसैका दास हैनौं!
— Baburam Bhattarai (@brb1954) May 26, 2021
केपी ओलीको सरकारलाई निरन्तरता दिने कि शेरबहादुर देउवाको नेतृत्वमा बैकल्पिक सरकार बनाउने भन्ने विषयलाई लिएर जसपा विभाजनको संघारमा छ । दुवै पक्षका नेताहरुले एक अर्कालाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने प्रक्रिया अघि बढाएका छन् ।