जनादेश सोसल मिडिया ।
नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकर्ण विष्टले माधव नेपाल पक्षमा उँभिएको पुष्टि गरे लगत्तै सामाजिक सञ्जालबाट सन्देश सार्वजनिक गरेका छन् ।
उनले नेकपा एमालेलाई २०७५ जेठ २ कै अवस्थामा फर्काएर एकता जोगाउन अन्तिम क्षणसम्म प्रयत्न जारी राखिने बताएका छन्।
प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उनीसमेत १९ जना स्थायी कमिटी सदस्यले संयुक्त विज्ञप्ति जारी गरेको भोलिपल्ट बिहीबार बिहान नेता विष्टले एमालेलाई पूर्ववत् अवस्थामा फर्काउन पहल जारी राख्ने उद्घोष गरेका हुन्।
‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरू लाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ,’ नेता विष्टले भनेका छन्, ‘राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ।’
विष्टको सन्दर्भमा विभिन्न चर्चा बाहिर भएपछि उनले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै जेठ २ को बटमलाइन अघि सारेका हुन् । विष्टले पछिल्लो समयमा शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउने र मुद्दा मामिला गर्ने सन्दर्भमा माधव नेपाल पक्षमा हस्ताक्षर गरेका छैनन् । तर बुधवार नेपाल पक्षबाट जारी संयुक्त वक्तव्यमा भने उनको नाम छ ।
बुधबारमात्र एमालेका १५ जना स्थायी कमिटी सदस्यले प्रधानमन्त्री केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको बताएका थिए । सामूहिक वक्तव्य जारी गर्नेमा गोकर्ण विष्ट पनि थिए ।
स्थायी कमिटी सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, वेदुराम भुसाल तथा पदेन स्थायी कमिटी सदस्यद्वय अमृतकुमार बोहरा र प्रमेश हमालले संयुक्त वक्तव्य जारी गरेर ओली निरंकुशताविरुद्ध लड्न आह्वान गरेका छन् ।