जनादेश, काठमाण्डौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली समयअनुसार बिहीबार राति २ करोड ५० लाख डोज कोरोनाभाइरसविरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गरे।
बाइडेनको घोषणामा नेपालले कति खोप पाउने हो भन्ने कहिँ कतै पनि खुलाइएको छैन।
बाइडेनको उक्त घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकालले सामाजिक सञ्जाल ट्वीटरमा नेपाललाई ५० लाख डोज खोप आउन लागेको लेखे।
उनले बाइडेनको यो घोषणालाई राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल सरकारको अर्को सफलताको संज्ञा दिए।
उनले लेखे-सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशिलताले कोभिड-१९ विरूद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ। हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ।
केही दिनअघि अमेरिकास्थित नेपाली राजदूत युवराज खतिवडामार्फत् राष्ट्रपति भण्डारीले अमेरिकी समकक्षी बाइडेनलाई खोपका लागि अनुरोध गर्दै पत्र पठाएकी थिइन्। राष्ट्रपति भण्डारीका प्रेस विज्ञ ढकालले नै अमेरिकाले ५० लाख डोज खोप दिन लागेको बताएपछि मानिसहरूमा चासो बढ्यो।
तर राष्ट्रपतिका विज्ञ ढकालले गरेको ट्वीटमा कुनै आधार थिएन। केहीबेरमा उनले उक्त ट्वीट डिलिट गरिदिए। त्यसपछि उनले लेखे- मैले उल्लेख गरेको परिमाणलाई म तत्काल सच्याउन चाहन्छु! यो परिमाण हाम्रो अपेक्षा र अनुरोध हो।
राष्ट्रपतिका सञ्चार विज्ञले ट्वीटरमा आफ्नो आफूले लेखेको कुरा सच्याइसकेको झन्डै १० घन्टापछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि फेरि त्यही ५० लाखको आँकडा ट्वीटर सार्वजनिक गरे।
शुक्रबार बिहान ट्वीटरमा उनले लेखे- एक तिहाइ खोपको व्यवस्थापन: अमेरिकाबाट अनुदान-५० लाख, चीनबाट अनुदान-१८ लाख, भारतबाट अनुदान- १० लाख, सुरक्षाकर्मीलाई प्राप्त-१ लाख, भारतबाट खरिद- १० लाख, खरिद आउन बाँकी-१० लाख, कोभ्याक्स अनुदान-३ लाख ४८ हजार, जम्मा-१ करोड २ लाख ४८ हजार। कूल चाहिने-४ करोड डोज। बधाई सरकार।
थापामाथि पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यही प्रश्न तेर्स्याए: अमेरिकाले नेपाललाई ५० लाख खोप दिने कुरा कहाँ छ?
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले केहीबेरमा क्षमायाचना पनि नगरी उक्त ट्वीट डिलिट गरिदिए। उनले भूल सुधार गरेनन् बरू अर्को ट्वीट लेखे: तथ्यांक लेख्न उचित लागेन- हामीलाई ४ करोड डोज खोप चाहिन्छ, त्यसनिम्ति राष्टपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको तहबाट विश्वभर आफ्ना समकक्षीसँग भएका पहल सार्थक भइरहेका छन्। आफू र परिवारका सबैले खोप लगाई सुरक्षित भएकाहरूले राष्ट्रपतिको विरोध गर्ने पाखण्डीपन त प्रकट भएकै छ।
राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकारहरूले खोपजस्तो संवेदनशील विषयमा हचुवाका भरमा ट्वीट गरेको भन्दै अहिले आलोचना भइरहेको छ।