जनादेश, काठमाण्डौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नवनियुक्त उपप्रधान एवं शहरी विकासमन्त्री राजेन्द्र महतोको एक बयानप्रति विरोध जनाएका छन्। हिजो मन्त्री भएलगत्तै महतोले मुलुकलाई बहुराष्ट्रिय राज्यतर्फ लैजान मुक्ति आन्दोलन गर्ने बताएका थिए।
महतोको उक्त अभिव्यक्तिको विरोध गर्दै भट्टराईले पहिलो र दोस्रो संविधानसभामै असान्दर्भिक भइसकेको बहु राष्ट्र राज्यको बहसमा लगाम लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेका छन्। यसले राम्रो संकेत नगरेको उनको बुझाइ रहेको छ। भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलो र दोस्रो संविधानसभामै असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बहस नियुक्त भएका उपप्रधानमन्त्री पुनः उठाएछन्। संकेत राम्रो छैन।’
देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्तिमाथि बेलैमा लगाम लगाउन उनले प्रधानमन्त्री ओलीलाई सुझावसमेत दिएका छन्। विविधतामा आधारित नेपाली राष्ट्रियता नै साझा राष्ट्रियता भएको भट्टराईले उल्लेख गरेका छन्।
‘संविधानको धारा ३ ले राष्ट्रको परिभाषा यसरी गरेको छ, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो। अर्थात् विविधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो,’ उनले भनेका छन्।
भट्टराईले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्ः
पहिलो र दोश्रो संविधानसभामै असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुनः उठाएछन । संकेत राम्रो छैन । देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्तिमाथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यू । संविधानको धारा ३ ले राष्ट्रको परिभाषा यसरी गरेको छ, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।’ अर्थात् विविधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो ।