जनादेश, काठमाडौँ ।
नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कारण नेकपा एकताको प्रयास असफल भएको भन्ने प्रधानमन्त्री केपी ओलीको भनाइ षडयन्त्रपूर्ण रहेको भन्दै खण्डन गरेका छन् । प्रचण्डले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको भर्त्सना गरेका हुन् ।
ट्वीटर ह्याण्डलबाट आफ्नो प्रष्टीकरण दिदै प्रचण्डले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’ प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आइतबार राति एमाले एकताको लागि माधव पक्षलाई आह्वान गर्दै अदालतले नभएर नेकपाको एकता प्रचण्डको कारण खारेज भएको बताएका थिए ।
अदालतको आदेशपछि १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा जानका लागि आफूले आग्रह गर्दा प्रचण्डले नमानेको ओलीले बताएका थिए । यसैबीच एमालेमा केपी ओलीले जेठ ३ मा फर्किने प्रस्ताव गरेपछि अन्योल बढेको छ । तर माधव नेपालले ओलीले फेरि पनि जालझेल गर्ने भन्दै त्यसमा नफस्ने आफूनिकट नेताहरूलाई बताइसकेका छन् । माधव नेपालले ओलीको प्रस्ताव लगत्तै आइतवार राति पनि प्रचण्डसँग छलफल गरेका थिए । अहिले प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। प्रचण्डले कोटेश्वर पुगेर माधवकुमार नेपालसँग भेटवार्ता गरेपछि बुढानिलकण्ठ पुगेका हुन् ।