जनादेश अपडेट ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।
बुधबार सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री र दलका नेताहरूलाई पत्र लेखी समसामयिक विषयमा छलफल गर्न शुक्रबार बोलाएका हुन् । उनले लेखेको पत्रका २८ जेठमा दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा समसामयिक विषयमा छलफल हुने उल्लेख छ ।
‘उपरोक्त सम्बन्धमा समसामयिक विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्न देहायको मिति, समय र स्थानमा आयोजना गरिएको छलफल कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूको गरिमाय उपस्थितका लागि हार्दिक आमन्त्रण गर्दछु’ उनले प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा भनिएको छ ।
असाधारण कदम चाल्ने भनेका सभामुखले छलफल गर्न चाहेको के ?
केही समय अघि मात्र सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनःस्थापित गर्न असाधारण कदम चाल्ने चेतावनी दिएका थिए ।
संसद विघटनबारे कानुनविद्सँगको छलफलमा सभामुख सापकोटाले संविधान, लोकतन्त्र र जनताको हितका लागि असाधारण कदम चाल्न पनि आफू तयार रहेको बताएका थिए ।
दोस्रोपटक गरिएको संसद विघटनबारे विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गर्ने क्रममा सभामुख सापकोटाले संविधान र कानुनका जानकारहरुसँग परामर्श गरिसकेका छन्। शीर्ष नेता बोलाएर सभामुखले के छलफल गर्न चाहेका हुन् भन्ने विषयमा विभिन्न अड्कलवाजी भैरहेको छ ।
व्यवस्थापिका प्रमुख सर्वोच्च: बाबुराम भट्टराई
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जननिर्वाचित व्यवस्थापिका र यसका प्रमुख राज्यका सबै अंगभन्दा माथि हुनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले व्यवस्थापिकाले नै कार्यपालिकाको गठन गर्ने भएकाले कार्यपालिका प्रमुखले कसरी यसको विघटन गर्नसक्छ? भन्दै प्रश्नसमेत उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत नेता भट्टराईले लेखेका छन्, ‘लोकतन्त्र ‘जनताद्वारा जनताको निम्ति जनताको शासन’ हो भने जननिर्वाचित व्यवस्थापिका राज्यका सबै अंगभन्दा माथि हुनुपर्ने हैन? उसैद्वारा गठित कार्यपालिका प्रमुखले कसरी उसको विघटन गर्नसक्छ? उसैबाट अनुमोदित न्यायपालिकाले कसरी उसको भाग्यको फैसला गर्नसक्छ?’
लोकतन्त्र ‘जनताद्वारा जनताकोनिम्ति जनताको शासन’ हो भने जननिर्वाचित व्यवस्थापिका राज्यका सबै अंगभन्दा माथि हुनुपर्ने हैन?उसैद्वारा गठित कार्यपालिका प्रमुखले कसरी उसको विघटन गर्नसक्छ?उसैबाट अनुमोदित न्यायपालिकाले कसरी उसको भाग्यको फैसला गर्नसक्छ?प्रम र प्रन्या भन्दा स्पिकर कसरी तल?
— Baburam Bhattarai (@brb1954) June 9, 2021
व्यवस्थापिकाका प्रमुख सभामुखको स्थान प्रधानमन्त्री र प्रधानन्यायाधीशभन्दा माथि हुनुपर्ने जिकिरसमेत उनको छ। सामाजिक सञ्जालमा उनको प्रश्न छ, ‘प्रम र प्रन्याभन्दा स्पिकर कसरी तल?’