नारायण ढुङ्गाना,
काठमाडौ । मनसुन न्यून चापीय क्षेत्र नेपाल नजीक आएर सोमबारदेखि पुनः मौसम सक्रिय हुने देखिएपछि विपद्बाट हुने सम्भावित क्षति रोक्न ७७ वटै जिल्लामा उच्च तयारी थालिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ७७ वटै जिल्लामा परिपत्र गरेर तयारीमा लाग्न निर्देशन दिइएको हो । “सबै जिल्लाका जोखिम क्षेत्र पहिचान भएको ठाउँमा अग्रिम टोली तयारीमा राख्न र आवश्यक उद्धार तथा राहत सामग्री दुरुस्त राख्न भनिएको छ”, प्राधिकरणका प्रमुख अनिल पोखरेलले रासससँग भन्नुभयो, “सम्भावित क्षति रोक्न क्षमताले भ्याए सम्मको उच्च तयारी गरिरहेका छौँ ।”
यसअघि उच्च तयारी हुँदाहुँदै पहिराका कारण मुलुकले ठूलो क्षति बेहोरेको छ । यस वर्ष बाढीपहिरो र चट्याङबाट १८१ जनाले ज्यान गुमाइसकेका छन् भने ५१ जना अझै बेपत्ता छन् ।
बैभन्दा बढी १२८ जनाको पहिराका कारण मृत्यु भएको छ । भोलि सोमबार साँझदेखि विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने भएकाले क्षति रोक्न आवश्यक तयारी थालिएको र सर्वसाधारणलाई जोखिम क्षेत्रमा नबस्न भनिएको छ । यसअघि दुईपटक यसरी नै लगातार भारी वर्षा भइसकेको छ ।
पोखरेलका अनुसार स्थानीय तह र प्रदेश सरकारसँग समेत समन्वय गरेर विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्न अनुरोध गरिएको छ ।
जिल्ला प्रशासनलाई सञ्चारमाध्यामबाट आवश्यक सूचना प्रवाह गर्न तथा सुरक्षा निकाय, रेडक्रम एवं सरोकारवाला निकायलाई समेत परिचालन गर्न निर्देशन भएको पोखरेलले बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा गराउने मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजीक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको छ । विभागले आज एक विज्ञप्ति जारी गरी १२ देखि १६ गतेसम्म नै मौसम सक्रिय हुने जनाएको छ ।
प्रिमनसुनको समयदेखि नै भारी वर्षा भएकाले यसपटक औसतभन्दा बढी वर्षा हुँदा जमीन पूर्ण रुपमा गलेको, भूकम्पका कारण धाँजा फाटेको ठाउँबाट पानी पसेर भित्र भाग चलायमान गराइसकेकाले सामान्य पानी पर्दासमेत सचेत हुनुपर्ने मौसमविद्को भनाइ छ ।
पहिले गएका पहिरो सक्रिय हुनसक्ने तथा जमीन गलिसकेकाले थोरै पानी पर्दा पनि अन्य क्षेत्रमा समेत पहिरो खस्न सक्ने तथा नदीमा एक्कासि बाढी बढ्ने भएकाले सावधानी अपनाउन भनिएको छ । रासस