ओलीले बैठक फेरि संकटमाः नेपाल पक्ष नजाने, झाँक्री भन्छिन्- गुटको भेला हो – Janadesh Daily | ePaper

ओलीले बैठक फेरि संकटमाः नेपाल पक्ष नजाने, झाँक्री भन्छिन्- गुटको भेला हो


जनादेश अपडेट ।

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको आज शुक्रबारका लागि बोलाएको ‘केन्द्रीय’ कमिटी बैठकमा माधवकुमार नेपाल तथा झलनाथ खनालको समूह सहभागी नहुने भएको छ।

यो समूहको बिहीबार बसेको स्थायी कमिटी बैठकले ओलीले भोलि डाकेको बैठक एकताका लागि नभई बिखण्डनका लागि भएको भन्दै उक्त बैठकमा सामेल नहुने निर्णय गरेको हो।

स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले भने, ‘बुधबार बालुवाटारमा भएको बैठक अवैध हो। अवैध बैठकले डाकेको बैठकमा हामी सहभागी हुन्नौँ। यो एकताका लागि आह्वान गरिएको बैठक होइन भन्ने हाम्रो निष्कर्ष हो।’

यस्तै आफूहरुसँग सरसल्लाह नगरी आह्वान गरिएको बैठकमा नजाने निष्कर्षमा आफूहरु पुगेको उनले बताए। उनले भने, ‘ हामीले एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी बैठकको माग गरेका छौँ। सोही बैठकबाट आवश्यक निर्णयहरु गर्न सकिन्छ। जबसम्म हाम्रो माग पूरा हुन्न तबसम्म अवैध कमिटी बैठकमा सामेल हुने कुरा हुन्न।’

उनले ओली पक्षले साँच्चै एकता चाहन्छ भने यसअघि गठन गरिएको कार्यदल ब्यूँताउनु पर्ने र त्यसैको माध्यमबाट वार्ता गरी सहमति गर्नुपर्ने निष्कर्ष आफूहरुको भएको बताए। नेपाल पक्षको स्थायी कमिटी बैठकलगत्तै नेपाल पक्षका केही नेताहरु ओली पक्षका नेताहरुलाई आफूहरुको अडान सुनाउन होटल समिटमा गएका छन्।

ओली पक्षले बुधबार आफूले गठन गरेको १० औँ महाधिवेशन आयोजक कमिटी भंग गर्दै त्यसलाई केन्द्रीय कमिटीमा रुपन्तारण गरेको थियो। बैठकमा नेपाल खेमाको मागबिपरीत २३ जना माओवादी पृष्ठभूमिका नेताहरुसहितको कमिटीलाई केन्द्रीय कमिटीको नाम दिइएको थियो।

त्यसँगै यसअघि ओलीले हटाएका नेपाल खेमाका नेताहरुको पार्टी पधादाधिकारीको जिम्मेवारी यथावत रहेको निष्कर्ष पनि बालुवाटारको बैठकले निकालेको थियो। साथै नेपालसहित ११ जना नेताहरुमाथि गरेको कारवाही पनि निष्प्रभावी भएको उसको निर्णय थियो।

गुटको भेला बोलाइएको हो- रामकुमारी झाँक्री

एमालेकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले अध्यक्ष केपी ओलीले आज बोलाएको केन्द्रीय कमिटी बैठकलाई गुटको भेला भन्दै बिरोध गरेकी छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत झाँक्रीले आफूहरुले उठाउँदै आएका राजनीतिक र सांगठानिक मुद्धाको सम्बोधनबिना बैठकमा उपस्थित हुने कुरै नआउने स्पष्ट पारेकी छन्।

‘भ्रममा नपरौ भोली असार १८ गते नेकपा एमालेको नाममा आयोजना गर्ने भनिएको बैठक गुटको बैठक हो,’ बिहीबार राति उनले ट्वीट गर्दै भनेकी छन्, ‘हामीले उठाएका राजनीतिक र सांगठनिक मुद्धाको सम्बोधनबिना उक्त बैठकमा सहभागी हुने कुरै आउँदैन। आज बसेको हाम्रो स्थायी कमिटीको बैठकले उक्त बैठकमा नजाने निर्णय गरेको छ।’

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्