जनादेश, काठमाडौँ । भारतको उत्तर प्रदेश सरकारले दुइ भन्दा बढी सन्तान हुनेलाई सरकारी जागिरमा आवेदन दिन रोक लगाउने तयारी गरेको छ ।
जनसंख्या नियन्त्रण गर्ने उद्धेश्य सहित राज्य सरकारले यस्तो योजना अघि सारेको हो । राज्य विधि आयोगले जनसंख्या नियन्त्रण गर्न सन्तानको नीति सम्बन्धी मस्यौदामा काम गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यस्तै दुइ भन्दा बढी सन्तान हुने व्यक्तिलाई विभिन्न सरकारी योजना र अनुदानबाट बन्चित गराउने मस्यौदामा उल्लेख छ ।
एक सन्तान हुने परिवारलाई उपचार, शिक्षा, विमा र सरकारी जागिरमा प्राथमिकता दिन सिफारिश गरिएको छ । प्रस्तावमा दुइ सन्तानको नीति पालना गर्ने दम्पतीलाई सरकारी सुविधा दिने र सवै कल्याणकारी योजनाबाट लाभ लिन सक्ने उल्लेख छ ।
यस्तै सन्तान नीतिको उल्लंघन गर्ने दम्पत्तीको राशन कार्ड ४ युनिट सम्म सिमित हुने र सरकारी जागिरको लागि आवेदन दिन पाउने छैन् । सरकारी कर्मचारी भएर पनि दुइ भन्दा बढी सन्तान जन्माउनेलाई पदोन्नति रोक्ने प्रस्तावमा रहेको छ । दुइ सन्तान सम्बन्धी मस्यौदा अगष्टको दोश्रो साता विधानसभामा पेश गर्ने तयारी भएको छ ।