अपमानजनक विदाइमा ओलीको तामझामः बाबुरामको कटाक्ष ‘पुच्छर केही बेर फिटीफिटी!’ – Janadesh Daily | ePaper

अपमानजनक विदाइमा ओलीको तामझामः बाबुरामको कटाक्ष ‘पुच्छर केही बेर फिटीफिटी!’


जनादेश सोसल मिडिया वाच ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समूहविरुद्ध कठोर कटाक्ष गरेका छन्।

ओली सत्ताच्युत भइसकेपछि सडकमा प्रदर्शन तथा लुम्बिनी प्रदेशमा गरिएको संसद् अधिवेशन अन्त्य– खसीको टाउको छिनाली सकेपछि केही बेर पुच्छर फिटीफिटी गरेजस्तै भएको टिप्पणी डा. भट्टराईले गरेका हुन्।

‘खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ,’ विपक्षी गठबन्धनमा आबद्ध डा. भट्टराईले शुक्रबार बिहानै सामाजिक सञ्जालमा लेखेका छन्, ‘ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ।’

आफू सत्ताको नेतृत्वनमा नरहे आकाशै खस्छजस्तो गर्ने ओली प्रवृत्ति हिटलरी तानाशाहसँग मिल्दोजुल्दो भएको आक्रोश पनि उनले पोखेका छन्।

उनले भनेका छन्, ‘आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओली प्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसँग मिल्दोजुल्दो छ, जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो।!

दुई तिहाइ बहुमतसहित ४१ महिनाअघि प्रधानमन्त्रीका रुपमा सिंहदरबार छिरेका केपी शर्मा ओली बुधबार घर फर्किएका थिए ।

सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि काम चलाउ हैसियतमा रहेका ओली बुधबार तामझामसहित भक्तपुरस्थित बालकोट निवास फर्किएका हुन्।

अपमानजनक अवस्थामा बहिर्गमन हुनु परेपनि ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारबाट बालकोटसम्म एमाले कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कटिङ गरेर तामझामका साथ पुर्‍याएका हुन्। उनलाई कौशलटारमा समर्थकले घडा राखेर स्वागत गरेका थिए।

प्रधानमन्त्रीका रुपमा बालुवाटार छिर्दा जस्तै ओलीले तामझाम गरेका हुन्। निवासमा पुगेपछि ओलीले कौशीबाट कार्यकर्तालाई सम्बोधन गरेका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्