नेकपा नेता चापागाईँको निधन    – Janadesh Daily | ePaper

नेकपा नेता चापागाईँको निधन   


जनादेश संवाददाता,

पाँचथर । राजनीतिक एवम् सामाजिक व्यक्तित्व थुमनाथ चापागाइँको ६९ वर्षका उमेरमा आज बिहान निधन भएको छ ।

आफन्तका अनुसार उहाँको फिदिम नगरपालिका वडा नं १२ स्थित निवासमा निधन भएको हो । अर्बुद रोगबाट पीडित भई लामो समय काठमाडौँका विभिन्न अस्पतालमा उपचार गरिए पनि रोग निको नहुने भएपछि केही दिनअघि मात्रै उहाँलाई निजी निवास ल्याइएको थियो ।

उहाँको मङ्गलबार अन्त्येष्टि गरिने उहाँका भतिजा मनरथले जानकारी दिएकाछन् ।  दिवङ्गत चापागार्इँका दुई श्रीमती, सात छोरा र पाँच छोरी हुनुहुन्छ ।   विसं २००८ जेठ १६ गते जन्मनुभएका चापागाईँ पञ्चायतकालमा जनपक्षीय उम्मेदवार भई एक पटक नांगीन गाउँ पञ्चायतको प्रधानपञ्चमा चुनिनुभएको थियो ।

यस्तै २०५४ को स्थानीय निर्वाचनमा उहाँ नांगीन गाविस अध्यक्ष निर्वाचित हुनुभएको थियो । कम्युनिष्ट पार्टीका कुशल सङ्गठक चापागाईँको हक्की र स्पष्टवक्ता स्वभावलाई धेरैले मन पराउँथे । गत स्थानीय तह निर्वाचनमा उहाँ तत्कालीन नेकपा (एमाले)बाट फिदिम नगरपालिकाको प्रमुखको आकाङ्क्षीसमेत हुनुहुन्थ्यो ।

जीवनभर सामाजिक क्षेत्रमा सक्रिय उहाँ तत्कालीन नेकपा (एमाले) पाँचथरको उपसचिवमा निर्वाचित हुनुभएको थियो । स्वास्थ्यमा समस्या भई पछिल्लो पटक सक्रिय राजनीतिबाट बाहिर रहनुभएका चापागाईँ हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ प्रदेश सल्लाहकार परिषद् सदस्य रहनुभएको थियो ।

उहाँ सामुदायिक विद्युतीकरण जिल्ला सहकारी सङ्घ पाँचथरको अध्यक्षलगायत विभिन्न सामाजिक सङ्घसंस्थाको नेतृत्वमा समेत रहनुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्