देवेन्द्र अर्याल ‘आँसु’
अहिलेको युगलाई डिजिटल युग पनि भन्न सकिन्छ । इन्टरनेटका कारण मानिसको दैनिक जीवनमा ठूलो परिवर्तन आएको छ । कठिन काम पनि सहजै पूरा गर्न सकिन्छ । पछिल्लो समयमा आएर कोरोना महामारीको कारण ई–लर्निङ तीव्र रूपमा फैलिएको छ । वेबमा आधारित शिक्षा प्रणालीलाई पछिल्लो समयमा आएर कोरोना महामारीले स्थापित गरिदिएको छ । त्यसैले वेबमा आधारित भर्चुअल कक्षाबाट पठनपाठन हुने क्रम विश्ववापी रूपमा बढेको हो । विद्यालय मात्र होइन; महाविद्यालय, विश्वविद्यालय सबैतिर अनलाइन शिक्षा सुरु भएको छ ।
महामारीका कारण पठनपाठन र परीक्षा प्रणालीमा पनि परिवर्तन आउनु कुनै नौलो कुरा होइन । पछिल्लो समयमा आएर त विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड १९ का कारण विश्वभरिकै पठनपाठन अवरुद्व भएको छ । शिक्षण संस्थाहरू लामो समयदेखि खुल्न सकेका छैनन् । शैक्षिक सत्रको सुरुवातदेखि नै लकडाउनका कारण अवरुद्व भएका शिक्षण संस्था खुलाउन पनि सकिएको छैन । स्वास्थ्य नै ठूलो धन भएका कारण महामारीबाट बच्न सरकारले नै लकडाउन थालनी गरेको हो । लकडाउन अवधिमा वैशाखको पहिलो हप्तादेखि नै कैयन् विद्यालयले अनलाइन शिक्षा पनि दिन थालेका थिए ।
भौतिक कक्षाको विकल्पका रूपमा अनलाइन कक्षा सुरु गरिएको भए पनि त्यो खासै प्रभावकारी बन्न सकेको देखिन्न । सरकारी र निजी क्षेत्रका सबै विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुन नसक्दा कैयन् विद्यार्थीमा मानसिक विचलनको अवस्था पनि देखिएको छ । खासगरी उपत्यकामा अनलाइन शिक्षा प्रभावकारी भए पनि राजधानीबाहिर यो त्यति प्रभावकारी बन्न सकेको छैन । सामुदायिक विद्यालयका कैयन् विद्यार्थी त सम्पर्कबाहिर नै छन् । इन्टरनेट, ल्यापटप, मोबाइल नभएका कारण कति विद्यार्थीको घरमा एकभन्दा बढी विद्यार्थी हुँदा अनलाइन कक्षाको समय जुधेको पनि पाइन्छ; जसले गर्दा उनीहरूको पढाइ पनि प्रभावित भएको छ । अनलाइन शिक्षाका बारेमा प्याब्सनका अध्यक्ष टीका पुरीले उपत्यकाका निजी विद्यालयको अनलाइन शिक्षा सन्तोषप्रद भएको तर देशभर हेर्ने हो भने त्यो राम्रो नभएको बताउनुभएको छ । देशभरका विद्यार्थी सङ्ख्यालाई मध्यनजर गर्दा कुल विद्यार्थीमा करिब २५ प्रतिशत विद्यार्थीको मात्र अनलाइन कक्षामा उपस्थिति देखिन्छ । कति विद्यार्थी अनलाइन कक्षामा जोडिएका पनि छैनन् । यसले के देखाउँछ भने सामुदायिक विद्यालयका कैयन् विद्यार्थी अझै सम्पर्कबाहिर नै छन् ।
त्यस्तै, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका महासचिव गुणराज मोक्तानले अनलाइन कक्षा सहरभित्रका विद्यालयले मात्रै सञ्चालन गरेको र त्यो प्रभावकारी नभएको बताउनुभएको छ । ८० लाख विद्यार्थीमा १० लाख मात्र अनलाइन कक्षामा जोडिएको सचिव मोक्तान बताउनुहुन्छ । बाँकी विद्यार्थी अनलाइनमा नजोडिनुको पछाडि उनीहरूको त्यसमा पहुँच नहुन पनि सक्छ । सरकारले वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिएको भने पनि अनलाइन कक्षाको पनि प्रभावकारिता विषयमा अध्ययन तथा अनुगमन हुन सकेको छैन । कुल विद्यार्थीको ३५ प्रतिशत विद्यार्थी अनलाइन कक्षामा सहभागी भएको सरकारी दाबी छ । अनलाइन कक्षा व्यवस्थापन वा सामग्री तयारीका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७ सय ५३ वटा स्थानीय तहमा विभिन्न आधारमा वर्गीकरण गरी ३ वा ४ लाख सहयोग प्रदान गरेको निर्देशक गेहनाथ गौतमले बताउनुभयो ।
लकडाउनका कारण लामो समयसम्म विद्यालय नखुलेपछि केही विद्यालयले घुम्ती कक्षा पनि सञ्चालन गरेका छन् । उनीहरूले टोलटोलमा गएर पढाउने व्यवस्था पनि मिलाएका छन् । टोलटोलमा कक्षा सञ्चालन भएका ठाउँमा स्यानिटाइजर र मास्क अनिवार्य गरिएको छ । त्यस्ता कक्षामा १० देखि १५ जनाको समूह बनाएर पठनपाठन गरिएको छ । इन्टरनेट, टेलिभिजन ल्यापटप, रेडियोजस्ता सामग्री पहुँच नभएका कारण बेलबारी नगरपालिका मोरङले यस प्रकारको विधि अवलम्बन गरेको हो । यस प्रकारको विधिबाट पठनपाठन गर्दा विद्यार्थीमा रुचि बढेको मात्र छैन, विद्यार्थी र अभिभावक सबैलाई राहत मिलेको स्थानीय अभिभावकहरूले बताएका छन् । लामो समयपछि विद्यार्थीले आफ्नो पठनपाठनलाई निरन्तरता दिन पाएकामा पनि विद्यार्थीहरू खुसी देखिन्छन् ।
हामीहरूले आगामी दिनमा पनि डिजिटल लर्निङलाई कायमै राख्ने हो भने त्यसका लागि विद्यार्थीलाई पढाउने सामग्रीका रूपमा डिजिटल लर्निङ उपकरण वा कार्यक्रमको व्यवस्था गर्नु पहिलो प्राथमिकतामा पर्छ । त्यस्तै शिक्षकलाई पनि डिजिटल सामग्रीको आवश्यकता पर्दछ । शिक्षक र विद्यार्थी दुवैलाई सशक्त बनाउने सर्वोत्तम उपायका रूपमा यसलाई लिन सकिन्छ । वर्तमान सन्दर्भमा डिजिटल लर्निङ शिक्षाको ज्यादै महत्व र फाइदा छ । विद्यार्थी र शिक्षक दुवैमा यसले आफ्नो दक्षता बढाउनका लागि महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । तर, डिजिटल उपकरणलाई केही समयसम्म सिक्न समय त अवश्य लाग्छ नै । सबैभन्दा राम्रो शिक्षण पद्धति त त्यो मानिन्छ जुन पद्धतिमा विद्यार्थीलाई पूर्ण रूपमा दक्षता प्रदान गरी ज्ञान प्रदान गरिन्छ र त्यसका लागि उनीहरूलाई सधैँ तयार पारिन्छ ।
अहिले हाम्रा शिक्षक र विद्यार्थी दुवै खाले छन्— डिजिटल लर्निङ उपकरण भएका र नभएका वा त्यो प्रयोग गर्न जान्ने वा नजान्ने । त्यसैले यो अनलाइन शिक्षा प्रभावकारी बनाउन सबैभन्दा पहिले डिजिटल लर्निङ उपकरण उपलब्ध हुनु आवश्यक छ र अर्को त्यसमा शिक्षक र विद्यार्थी दुवैलाई तालिम दिएर अभ्यस्त बनाउनुपर्ने देखिन्छ । विद्यार्थीले यस पद्धतिबाट आफैँ धेरै कुरा सिक्न सक्छन् । इन्टरनेटबाट थुप्रै सामग्री डाउनलोड गरेर सन्दर्भका रूपमा प्रयोग गर्न सक्छन् । त्यसैले अबका दिनमा विद्यार्थी र शिक्षक दुवैले प्रविधिलाई व्यापक रूपमा प्रयोग गर्नुपर्ने देखिन्छ । शिक्षाको अनुभव ज्यादा असरदार हुन्छ, त्यसैले विद्यार्थीलाई पावर प्वाइन्ट, भिडियो प्रस्तुति वा ई–लर्निङ आदि पद्धतिद्वारा शिक्षा दिनु आवश्यक देखिन्छ ।
अनलाइन शिक्षालाई केवल महामारीका समयमा मात्र होइन, सामान्य समयमा पनि प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्न सकिन्छ । यसलाई पठनपाठनसँग जोडेर प्रयोग गर्न सकेका खण्डमा यसले सिकाइ उपलब्धिमा पनि वृद्धि गर्न सक्छ । त्यसैले हरेक शिक्षण संस्थाहरूले यसको व्यापक रूपमा प्रयोगमा ल्याउनु पक्कै नै सान्दर्भिक देखिन्छ । त्यसैले अहिले हामीले अनलाइन शिक्षालाई अन्यथा नसोची एउटा उत्तम विकल्पका रूपमा र आगामी दिनमा थप सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्न सक्छौँ ।
Source: https://www.karobardaily.com/news/idea/34352