जनादेश वाच ।
प्रधानमन्त्री शेरबहादुर देउवाको वर्तमान कार्यकाल एक वर्ष चानचुनमात्रै छ । प्रधानमन्त्री देउवाले भने सरकारले विश्वासको मत पाएको तीन साता लाग्दासम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । देश महामारीको चपेटामा छ । बाढी पहिरोबाट आक्रान्त छ । अर्थतन्त्र र जनजिविका सङ्कटमा छन् । यस्तो अवस्थामा सरकारले ‘युद्धस्तर’मा काम गर्नुपर्थ्यो । मन्त्रिपरिषद् पनि गठन गर्न नसक्ने प्रधानमन्त्रीबाट जनताले के अपेक्षा गर्ने ? भन्ने प्रश्न उठेको छ ।
सत्तारूढ गठबन्धका शीर्ष नेताहरूले गठित कार्यदललाई बुधबार (आज) सम्म प्रतिवेदन बुझाइसक्न निर्देशन दिएका छन् । मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष यादव र कार्यदल संयोजक कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।
बालुवाटरमा बसेको शीर्ष नेताहरूको बैठकले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि, सरकार सञ्चालन संहिता बनाउने जिम्मेवारी पाएको कार्यदललाई छिटो प्रतिवेदन तयार पारेर बुझाउन भनेको बैठकमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । कार्यदलले प्रतिवेदन नबुझाएकाले मन्त्रिपरिषद् विस्तारको कार्य रोकिएको हो । कार्यदलले प्रतिवेदन बुझाएपछि पर्सिदेखि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने यादवले बताए ।
गठबन्धनका नेताहरुको शैली देखेर वरिष्ठ लेखक एवं विश्लेषक खगेन्द्र संग्रौलाले गठबन्धनका नेताहरुप्रति व्यङ्ग्य कसेका छन् ।
लेखक संग्रौलाले प्रचण्डको दौडधुप, मन्त्री माग्दै बसिरहेका देउवा र एकता भन्दै बसिरहेका माधव नेपालप्रति व्यङ्ग्य गरेका हुन् ।
प्रम देउवा गठबन्धनका पक्षले कहिले मन्त्रीका नाम देलान् भनी हात थापेर बस्याबस्यै।।माधव कुटिल एकताकाे भ्यागुत्ताकाे धार्नी पुग्ने क्षणकाे पर्खाइमा बस्याबस्यै।पुकदा काेटेश्वर-बालुवाटारकाे व्यर्थकाे रेसमा कुद्याकुदेई।अकर्मण्य नेतात्रयद्वारा प्रारम्भमै सरकारकाे पङ्गुपन प्रमाणित भाे।
— Khagendra Sangroula (@belakoboli) August 3, 2021
सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि, सरकार सञ्चालन आचार संहिता बनाउने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदललाई आजसम्म प्रतिवेदन बुझाउन भनिएको छ ।
कार्यदलले भोलि–भोलि भन्दै समय लम्ब्याउँदै गए पनि न्यूनतम साझा कार्यक्रम, आचार संहिता तथा सरकार सञ्चालन कार्यविधि तयार पार्न सकेको छैन ।