जनादेश वाच ।
नेपाली कांग्रेसका नेता गगन थापाले वैकल्पिक माध्यमबाट विभिन्न तहको परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्री देउवाले यस विषयलाई गम्भीरताका साथ लिनुभएको र तत्काल पहलकदमी लिई ठोस निर्णय लिने विश्वास दिलाएको थापाले बताएका छन् ।
पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले एउटै हलमा धेरै विद्यार्थी राख्दा हुने संक्रमणको जोखिम भएको र संक्रमितलाई समेत छुट्टै व्यवस्था नहुँदा उनीहरू आफ्नो अवस्था लुकाइ परीक्षा दिन बाध्य भएको बुधबार सामाजिक सञ्जालमार्फत् बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले कोरोनाको तेस्रो लहरबारे बताइरहने र अर्कोतर्फ परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने ? भन्दै मन्त्रालयलाई थापाले प्रश्न गरेका छन् ।
वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेका छन्।एउटै हलमा धेरै विद्यार्थी राख्दा हुने संक्रमणको जोखिम त छ नै संक्रमितलाई समेत छुट्टै व्यवस्था नहुदा उनीहरू आफ्नो अवस्था लुकाइ परीक्षा दिन बाध्य छन्।
— Gagan Thapa (@thapagk) August 11, 2021
स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्नुपर्ने नभएर वैकल्पिक माध्यमबाट परीक्षा चलाउन मन्त्रालयलाई सुझाव दिएका छन् । नेता थापाले विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर्न स्वास्थ्य मन्त्रालयलाई चेतावनी समेत दिएका छन् ।