सरकार विस्तारको अन्तिम सुरसारः कुन पार्टीबाट को-को बन्दैछन् मन्त्री ! – Janadesh Daily | ePaper

सरकार विस्तारको अन्तिम सुरसारः कुन पार्टीबाट को-को बन्दैछन् मन्त्री !


जनादेश वाच ।

प्रधानमन्त्री शेर बहादुर देउवाले प्रधानमन्त्री बनेको ३ महिनापछि बल्ल मन्त्रिपरिषद् विस्तारको सुरसार गरिरहेका छन् । प्रधानमन्त्री सचिवालयका मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल अघि बढेको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्रीले गठबन्धनमा रहेका सबै शीर्ष नेतासँग मन्त्रीमण्डल विस्तार गर्न आन्तरिक गृहकार्य अगाडि बढाएका छन् ।

नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेको छ । अब कांग्रेस सांसद नारायण खड्का मन्त्री बन्ने लगभग पक्का भएको छ ।

परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति पनि नेताहरूबीच भएको छ । ‘सरकारको छवि धुमिल हुन नदिन परराष्ट्रमन्त्री तत्काल नियुक्त गरौं, अरु प्रमुख मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्दै जाने सहमति भएको छ,’ गठबन्धनका एक नेताले भने, ‘परराष्ट्र मन्त्रालय कांग्रेसले लिने सहमति पनि भएको छ ।’

सबै नेतालाई उस्तै सकसः मन्त्री छान्न प्रलय
नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्री छान्न शीर्ष नेतृत्वलाई सकस भएको छ । मन्त्रीका लागि कांग्रेसमा मात्रै होइन माओवादी र जसपामा पनि उत्तिकै दबाब छ ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो तीन बजे देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने छ ।

सरकारमा सहभागी हुने मन्त्री छनोट र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको देउवा निकट एक नेताले जानकारी दिए ।

कांग्रेसमा संस्थापनबाट डा. नारायण खड्कावाहेक सचेतक पुष्पा भुसाल, मीन विश्वकर्मा, डा. डिला संग्रौलासहितका नेताहरूले यसपटक मन्त्रीका लागि दाबी गरेका छन् । यी चारमध्ये दुई जनालाई मन्त्री बनाउन देउवा तयार रहेको बताइएको छ ।

यसपटक पूर्वसंस्थापनबाट, सुजाता कोइराला, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीको नाम चर्चामा छ । सिटौला पक्षबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एकलाई मन्त्री बनाउनै पर्ने दबाब देउवालाई छ ।

गठबन्धन सरकार भएकाले देउवालाई सन्तुलन मिलाएर मन्त्री चयन गर्न यसपटक निक्कै सकस पर्ने देखिएको छ । प्रधानमन्त्री देउवाले नजिकिँदो महाधिवेशनलाई लक्षित गर्दै यसपटक मन्त्री चयनलाई प्राथमिकतामा लिएको बताइएको छ । देउवाले गृहमा बालकृष्ण खाँण र कानुनमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई ल्याइसकेका छन् ।

गृहमन्त्री खाण, केन्द्रीय सदस्यहरू एनपी साउद र रमेश लेखक पनि महामन्त्री पदका आकांक्षी हुन्। खाणको संगठनमा बलियो पकड रहेको मानिन्छ। २०४८ मै नेविसंघ सभापति रहेका साउद पनि संगठनमा बलियो छन्।

त्यसै गरी, माओवादी केन्द्रले पनि मन्त्री छनोटको कामलाई तीव्रता दिएको छ । मन्त्री छनोट गर्न निकै दबाब परेको बताउँदै आएका पार्टी अध्यक्ष प्रचण्डले सात प्रदेशबाट एक÷एक जना मन्त्री बनाउने नीति लिएका छन् ।

कर्णाली प्रदेशबाट जनार्दन शर्मा र वागमती प्रदेशबाट पम्फा भुसाल मन्त्री भइसकेका छन् । गण्डकी प्रदेशबाट यसपटक देवेन्द्र पौडेलको नाम चर्चामा रहेको छ । माओवादीले प्रदेशबाट मात्र नभई सबै समुदाय र भूगोलको समेत प्रतिनिधित्व हुने गरी मन्त्री बनाउने तयारी गरेको छ ।

जसअनुसार स्थायी समितिमा रहेका नेताहरूमध्येबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङलगायतको नाम पनि चर्चामा छ । मधेसबाट यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ ।यादवले यसअघि अवसर पाइसकेकाले मोदी र मण्डलमध्ये एक जना मन्त्री हुने सम्भावना बलियो छ ।

महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठमध्येबाट मन्त्री हुने बढी सम्भावना छ । देउवा नेतृत्वको सरकारमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राईलगायतको नाम चर्चामा छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्