जनादेश संवाददाता
काठमाडौँ , अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सरकारले कोरोना भाइरसको जोखिम घटेको भनेर नभई जनजीवन सरल बनाउन बन्दाबन्दी खोलेको बताएकाछन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सार्वजनिकीकरण गर्दै सरकारका प्रवक्ता खतिवडाले नागरिक आफैँ सचेत भएन भने कोरोना सङ्क्रमण बढ्न सक्ने उल्लेख गरेकाछन् ।
सरकारले चार महिना कडा बन्दाबन्दी गरेको र विस्तारै जनजीवन सहज बनाउन यसलाई खुकुलो बनाउँदै लगिएको मन्त्री खतिवडाले जानकारी दिएकाहुन् ।
जीवन रक्षासँगै बाँच्न पाउने अधिकार पनि सुनिश्चित गराउनु आवश्यक रहेको भन्दै मन्त्री खतिवडाले नागरिक जीवन सहज बनाउनेतर्फ सरकार लागि परेको बताएकाछन् ।