काठमाडौँ,
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सदस्यसचिव किरणराज शर्मालाई स्वागत गर्नुभएको छ ।
हिजो यहाँ आयोजित एक कार्यक्रमबीच काउन्सिलका सदस्यसचिव शर्मालाई कार्यवाहक अध्यक्षले स्वागत गर्नुभएको हो ।
उमेर हदका कारण प्रेस काउन्सिल सदस्यसचिव लेखनाथ शर्माले २०७७ साउन १३ गतेदेखि अनिवार्य अवकाश लिनुभएपछि, सूचना तथा प्रसारण विभागको महानिर्देशकको नयाँ जिम्मेवारीमा सहसचिव शर्मा आउनुभएको हो ।
प्रेस काउन्सिल ऐन, २०४८ ले काउन्सिलको सदस्यसचिवका रुपमा विभागका महानिर्देशकलाई तोकेको छ । उहाँ यसअघि गण्डकी प्रदेशअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
कार्यवाहक अध्यक्ष श्रेष्ठले शर्मालाई स्वागत गर्नुहुँदै काउन्सिलको कामकारवाही, क्षेत्राधिकार तथा गतिविधि र सदस्यसचिवका रुपमा उहाँका जिम्मेवारीबारे जानकारी गराउनुभएको थियो । रासस