जनादेश वाच ।
नेपालमा गत बुधबारदेखि ‘विन्टर सिजन’ सुरु भएको छ । अब बढ्दै जाने जाडोलाई स्वाभाविक र ऋतु परिवर्तनको कारक मानिन्छ ।
मौसम पूर्वानुमान महाशाखाको तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा जाडोसँगै उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको जनाइएको छ ।
क्रमिक रूपमा जाडो बढ्दै गएकाले जाडोबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह छ । जाडोयाममा विभिन्न किसिमका भाइरसहरू सक्रिय हुने हुँदा विशेषगरी फोक्सोरोगी, निमोनियाका बिरामी, दीर्घरोगीलगायत बिरामीलाई बढी असर पर्छ । जाडोयाममा निमोनिया, रुघाखोकी र श्वासप्रश्वासमा बढी समस्या देखिने चिकित्सकहरू बताउँछन् ।
नेसनल कार्डियाक सेन्टरका मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले फेसबुकमा लेखेका छन, ‘‘जाडोमा हिटर तापेर उठ्दा रिंगटा लागेर ढल्ने जोखिम हुन्छ । त्यसैले वृद्धवृद्धा, मुटुरोगी र प्रेसरका बिरामीले बढी ध्यान दिन जरुरी हुन्छ । यस्तै, आगो ताप्दा रक्तचाप घटेको हुनसक्छ ।”
डा. ओममूर्तिका अनुसार आगोभन्दा इलेक्ट्रोनिक हिटर ताप्न ठिक हुन्छ । यद्यपि, लामो समयसम्म तापिरहन भने हुँदैन । कोठाभित्रै गुम्सिएर हिटर, आगो ताप्दा रक्तचाप कम भई मानव स्वास्थ्यमा समस्या आउन सक्ने उनको भनाइ छ ।
जाडोले मुटु र अरू ससाना रक्तनलीलाई खुम्च्याउने र रक्तसञ्चारमा परिवर्तन आउने उनी बताउँछन् । ‘‘रगतको प्रवाहमा कमी ल्याउँदा मुटुमा अक्सिजनको कमी हुन्छ । यस्तो अवस्थामा मुटुलाई अरू समयभन्दा बढी काम गर्नुपर्ने हुन्छ । जाडोको समयमा शरीरमा विभिन्न किसिमका हर्मोन र रसायनको उत्पादन बढ्ने गर्छ,” डा. ओममूर्ति अनिलले भने, ‘‘यी कारणले मुटु र मस्तिष्कका रक्तनलीहरूमा रगत जम्ने सम्भावना रहन्छ । जसले गर्दा हृदयाघात र मस्तिष्काघात हुने खतरा हुन्छ । यस्ता समस्या मुटुरोगको समस्या हुने मानिसलाई बढी हुन्छ ।”
उनका अनुसार जाडोमा रगत गाढा हुने सम्भावना बढी हुन्छ । त्यसैले व्यायाम गर्नुअगाडि पर्याप्त पानी (सामान्य तापक्रम भएको) पिउनु लाभदायी मानिन्छ ।
यसबाहेक रक्तचाप र कोलेस्ट्रोलको मात्रा ‘कन्ट्रोल’मा रहेका सामान्य मानिसले आफ्नो दैनिकीमा परिवर्तन ल्याउन जरुरी नहुने चिकित्सकहरू बताउँछन् । डा. ओममूर्तिका अनुसार यस्ता मानिसले चिसोबाट बचेर सुरक्षा अपनाएर मर्निङवाकमा निस्कन मिल्छ ।
‘‘बिहान उठ्ने बित्तिकैभन्दा पनि घाम उदाएको बेलामा मर्निङवाक गर्दा अझ उपयुक्त हुन्छ । साथै, मर्निङवाकमा निस्कनुभन्दा पहिले मनतातो पानी पिएर निस्कने गर्नुपर्छ,” उनले भने ।
दीर्घरोगी मुटुरोगी, हृदयाघात, मधुमेह, दमरोगी, ६० वर्षभन्दा बढी उमेर भएका मानिसले जाडो महिनामा उच्च सतर्कता अपनाउनुपर्ने हुन्छ । अचानक धेरै परिश्रम हुने काम गर्न नहुने, लामो समयसम्म शारीरिक परिश्रम नगर्न चिकित्सकहरूले सुझाएका छन् ।
यस्ता बिरामीहरूलाई चिसो मौसममा श्वासप्रश्वासको समस्या पनि जटिल बन्दै जान्छ । लामो समयसम्म परिश्रम गर्दा बेला–बेलामा विश्राम गर्नुपर्छ । न्यानो कपडा र शरीरभित्र चिसो पस्न नदिन मास्कको प्रयोग गर्नुपर्ने चिकित्सक बताउँछन् ।
ऋतु परिवर्तनसँगै जाडोयाम सुरु भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । मौसमविद्का अनुसार जाडो महिनामा वर्षा कम हुन्छ । वर्षा कम र चिसो बढी हुने हुँदा वायु प्रदूषण बढ्दै जान्छ । यसले आँखा र छालासम्बन्धी समस्या देखापार्छ ।
वातावरण विभागका अनुसार जाडो छल्नका लागि अत्यधिक मात्रामा आगो बालिँदा त्यसले बढी वायु प्रदूषण गराउँछ । फोक्सोरोगी, मुटुरोगी र आँखारोगीका लागि वायु प्रदूषण घातक मानिन्छ ।
विभागले वायु प्रदूषण हुने क्रियाकलापहरू नगर्न आग्रह गर्दै आएको छ । वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीका अनुसार जाडो छल्न दाउरा, प्लास्टिकजन्य पदार्थ, पराल बाल्दा वायु प्रदूषण बढ्छ ।
‘‘यससँगै सुक्खायाम भएकाले मानिसले वनजंगलमा डढेलो लगाउँछन् । मानिसका यस्ता क्रियाकलापले वायु प्रदूषण बढ्ने हो,” उनले भने ।
अहिले भारतको वायु प्रदूषण नेपाल भित्रिएको छ । यस्तो बेलामा आँखा पाक्नेलगायत समस्याहरू देखिने चिकित्सक बताउँछन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गत वर्षभन्दा यो वर्ष बढी जाडो महसुस हुने अनुमान छ । प्रशान्त महासागरमा हरेक वर्ष बन्ने एल्निङ्ग्या र लानिङ्ग्याका कारण कम र बढी जाडो हुने विभागले जनाएको छ ।
विभागका अनुसार हरेक वर्ष दोहोरिने एल्निङ्ग्या र लानिङ्ग्या प्रणालीमध्ये यो वर्ष बढी जाडो महसुस हुने लानिङ्ग्या चक्र चलिरहेको छ ।