जनादेश वाच ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडनद्वारा आयोजित लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनमा मन्तव्य दिएका छन्। भर्चुअल माध्यमबाट भएको उक्त सम्मेलनमा सहभागी हुँदै देउवाले जटिल किसिमका राजनीतिक मतभेदहरुलाई पनि छलफलमार्फत् समाधान गर्न सकिने बताएका छन्।
प्रधानमन्त्री देउवाले लोकतन्त्रमा हिंसाको कुनै स्थान हुन नहुने पनि उल्लेख गरेका छन्। ‘हामीले अत्यन्तै जटिल किसिमका राजनीतिक मतभेदहरूलाई पनि छलफलमार्फत् समाधान गर्न सक्छौं। लोकतन्त्रले यस्तो छलफल तथा परामर्शको लागि मञ्च प्रदान गर्दछ। लोकतन्त्रमा हिंसाको कुनै स्थान हुनुहुँदैन,’ देउवाले भने।
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै प्रधानमन्त्री देउवाले सम्मेलनमा सहभागी भएको जानकारी दिएका छन्। देउवाले सम्मेलनमा लोकन्त्र बारेको आफ्नो अवधारणा, लोकतान्त्रिक रुपान्तरण र अहिलेसम्मका अनुभवहरु साटेको बताएका छन्।
I have the honour to participate in the Summit for Democracy hosted by President @JoeBiden and share our perspectives on democracy, democratic transformation and lessons learned. pic.twitter.com/aZsvaLIYvU
— Sher Bahadur Deuba (@SherBDeuba) December 9, 2021
के हो समिट फर डेमोक्रेसी?
समिट फर डेमोक्रेसी अमेरिकी राष्ट्रपति बाइडेनको व्यक्तिगत चाहना र तत्परतामा आयोजना गरिएको सम्मेलन हो। समकालीन विश्वमा लोकतन्त्रको चुनौतीका रुपमा देखापरेका अधिनायकवाद र भ्रष्टाचारविरुद्ध लड्न तथा मानवअधिकारको रक्षा गर्न ‘मन मिल्ने मुलुक’ मिलेर काम गर्ने संकल्प लिएर बाइडेनले समिट आयोजना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। एक वर्षअघि राष्ट्रपतीय चुनावका अभियानका क्रममा बाइडेनले आफू निर्वाचित भए लोकतन्त्रबारे विश्व सम्मेलन आयोजना गर्ने घोषणा गरेका थिए।