नेपालमा कोरोनाको तेस्रो लहर सुरु भैसकेको हो ? संक्रमण दरको त्यस्तै संकेत, यस्तो भयो भने बुझ्नुस् ओमिक्रोन भयो – Janadesh Daily | ePaper

नेपालमा कोरोनाको तेस्रो लहर सुरु भैसकेको हो ? संक्रमण दरको त्यस्तै संकेत, यस्तो भयो भने बुझ्नुस् ओमिक्रोन भयो


जनादेश हेल्थ डेस्क।

पछिल्लो १० दिनयता कोरोना संक्रमणका बिरामीहरु ह्वात्तै बढेका छन् । केही साता अघिसम्म दैनिक चार सयको वरिपरि रहेको कोरोना संक्रमण संख्या यतिबेला बढेर ३ हजार ५०० पुगेको छ ।

गएको १० दिनमा मात्रै १५ हजार २०२ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार पुस १९ गतेदेखि कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।

पुस १९ गते देशभरका ३२६ जनामा मात्र कोरोना संक्रमण देखिएको थियो । यो संख्या बढेर २० गते ३९३ जना पुगेको थियो । त्यस्तै २१ गते ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङकले देखाएको छ ।

त्यसतै २२ गते ५४० कोरोनाका नयाँ बिरामी थपिएका थिए । २३ गते उक्तसंख्यामा करिब ४०० ले बढेर ९६८ जना कोरोनाका नयाँ विरामी थपिएका थिए ।

गत पुस १९ गतेबाट बढेको कोरोना संक्रमितको संख्या अहिले दैनिक बढिरहेको छ ।

त्यस्तै पुस २४ गते ९४४ जना, २५ गते १ हजार १६८ जना, २६ गते १ हजार ४४६ जना, २७ गते २ हजार ४४४ जना, २८ गते ३ हजार ७५ जनामा र बिहीबार २९ गते ३ हजार ५५३ जना कोरोना संक्रमणका नयाँ बिरामी थपिएका छन् । यो दश दिनमा देखिएको कोरोना संक्रमितको संख्या करिब डेढ महिनाअघिबाट दिएको कोरोना संक्रमितको संख्या भन्दा धेरै हो ।

नेपालका कोरोना संक्रमण देखिएदेखि हालसम्म ८ लाख ४१ हजार २९७ जनामा कोरोना संक्रमण देखिएको छ भने निको हुनेको संख्या पनि ८ लाख १५ हजार ३४७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना महामारीमा परी पुस २९ गतेसम्म ११ हजार ६१० जना मानिसहरुले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जारी गरेका तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सरुवा रोग विषेशज्ञ डाक्टर शेरबहादुर पुनले ओमिक्रोन तिव्र रुपमा फैलिएपनि त्यसले संक्रमितहरुलाई जटिल अवस्थामा भने नपु¥याएको बताए । ओमिक्रोन फैलिको अनुपातलाई हेर्दा धेरै बिरामीहरु अस्पताल भर्ना हुनुपर्ने भएपनि त्यस्तो नदेखिएको उनको भनाइ छ । विश्वका अन्यदेशहरुमा ओमिक्रोन फैलिएको अनुपातलाई हेर्दा त्यसको अनुपातमा विरामीहरु अस्पताल भर्ना नभएको देखिएकाले पनि यो भेरिएन्टले संक्रमतिलाई अघिल्ला भेरिएन्टले जस्तो जटिल अवस्थामा नपुर्‍याउने उनले बताए । जटिल अवस्थामा पुर्‍याउँदैन भनेर हेलचेक्राइ भने गर्न नुहुने डा.पुनले बताए । कोरोना संक्रमणलाई फैलन नदिन सबैले स्वास्थ्य सुरक्षा अपनाउनुको विकल्प नरहेको उनको भनाइ छ । कोरोना संक्रमति बिरामीहरुलाई टाउको दुख्ने, घाँटी दुख्ने, सामान्य ज्वरो आउने र नाकबाट सिङ्गान बग्ने जस्ता लक्षणहरु बढी देखिएको उनले बताए । अहिले नेपालमा कोरोना संक्रमण जसरी फैलिएको छ त्यसको अनुपातमा जटिल भएका किसिमका बिरामीहरु कमै रहेको उनले बताए । कोरोना संक्रमणबाट विशेष गरी खोप नलगाएका व्यक्तिहरु बढी जोखिममा रहेको उनले बताए । सामान्यतया प्रायः सबै मानिसहरुले कोरोना भाइरस विरुद्धको पहिलो डोज खोप लागाइसकेका कारण पनि कोरोना संक्रमणले जटिल रुपमा लिन नसकेको उनको भनाइ छ । डा. पुनका अनुसार कोरोना संक्रमणबाट बञ्चिनुको एक मात्र विकल्प स्वास्थ्य सुरक्षामा ध्यान दिनु र कोरोना भाइरस विरुद्ध खोप लगाउन हो ।

यस्ता छन् ओमिक्रोनका लक्षण
चिकित्सकहरूका अनुसार नेपालमा ओमिक्रोनका विरामी बढिरहेका छन्। अस्पतालहरुमा केही दिनयता निरन्तर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उनीहरुमा केही साझा लक्षणहरु देखिएका छन्। ती लक्षणहरुमध्ये निम्न ५ लक्षण प्रमुख रुपमा देखापरेका छन् :
घाँटी दुख्ने र असहज हुने।
थकान महसुस हुने।
टाउको र शरीरका मांशपेशी दुख्ने।
हल्का शरीर तातिएको महसुस हुने।
नाकबाट पानी आउने र बन्द हुने।
यहाँ उल्लेख गरिएका लक्षणहरु सामान्यतया खोप लगाएका संक्रमितहरुमा देखिएका छन्। यी लक्षणहरुबाहेक अघिल्लो भेरियन्टहरुमा देखिँदै आइरहेका उच्च ज्वरो, खोकी, श्वास प्रश्वासमा असहजता तथा स्वाद र गन्ध थाहा नपाउने जस्ता लक्षणहरु पनि नदेखिने भन्ने चाहिँ होइन।

विज्ञ भन्छन्- खोप लगाएकाहरुमा संक्रमण हुन सक्ने भएपनि जटिल अवस्था आउने वा मृत्यु हुने जोखिमलाई घटाउने विभिन्न अध्ययन, अनुसन्धानले देखाएका छन्। तसर्थ, यो जोखिमबाट बच्नका लागि खोप लगाउनु नै सबभन्दा प्रभावकारी उपाय हो। यसमा सबैको ध्यान पुग्न अपरिहार्य छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्