ओमिक्रोन संक्रमणको निरन्तर उकालो ग्राफः यस्तो छ होम आइसोलेसन र अस्पतालको आँकडा – Janadesh Daily | ePaper

ओमिक्रोन संक्रमणको निरन्तर उकालो ग्राफः यस्तो छ होम आइसोलेसन र अस्पतालको आँकडा


जनादेश वाच।

नेपालमा विहीबार एकैदिन १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक दिनकै अवधिमा २७ हजार ४९७ जनाको नमूना परीक्षण गर्दा १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिइन् ।

काठमाडौँ उपत्यकामा एकै दिन ६ हजार ९८१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार काठमाडौँमा ५ हजार १, ललितपुरमा १ हजार १३० तथा भक्तपुरमा ८५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार बुधबारको तुलनामा सङ्क्रमण दर भने थोरैले घटेको छ । बुधबार पीसीआर परीक्षण गर्दा सङ्क्रमण दर ५२.६ प्रतिशत रहेकोमा बिहीबार यो घटेर ४७.९ प्रतिशत पुगेको छ । एन्टिजेन परीक्षणमा भने सङ्क्रमण दर ३४.७ प्रतिशतबाट बढेर ३५.२ प्रतिशत पुगेको छ ।

संक्रमितको तुलनामा अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या भने निकै कम छ । तरपनि अस्पताल भर्ना भएकाहरूमा फरकफरकखाले जटिलता भने देखिएका छन् ।

देशभर कति संक्रमित अस्पतालमा ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माघ ५ गतेसम्मको तथ्यांकअनुसार नेपालमा कोभिडका सक्रिय संक्रमितकोमध्ये ९७.४ प्रतिशत अर्थात् ४६ हजार ५१५ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । बाँकी संक्रमितमध्ये अस्पतालका साथै अन्य संस्थागत आइसोलसनमा उपचाररत छन् ।

त्यस्तै देशभरका आईसीयूमा १६१ जना र भेन्टिलेटरमा २८ जना उपचाररत छन् । तीमध्ये काठमाडौंका ११ वटा प्रमुख अस्पतालहरूमा मात्रै जेनेरल बेडमा २३५ जना एचडीयूमा ३२६ जना आईसीयूमा ६२ र भेन्टिलेटरमा १५ जना उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ ।

अस्पताल भर्ना हुने आधा संक्रमित अक्सिजनको सहायतामा
काठमाडौंका अस्पतालहरूमा भर्ना भएका कोभिड १९ संक्रमितहरूमध्ये आधा संक्रमितलाई अक्सिजनको सपोर्टमा राख्नुपर्ने देखिएको छ । काठमाडौं उपत्यकामा सबैभन्दा बढी संक्रमित उपचाररत रहेको सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ८६ जना एचडीयूमा छन् । तीमध्ये १५ प्रतिशत संक्रमितलाई अक्सिजनको सहायतामा राखिएको अस्पतालका कोभिड युनिट प्रमुख डा. प्रवीण नेपालले जनकारी दिए ।

त्यस्तै एचडीयू बेडमा १९ जना र आईसीयूमा ३ जना संक्रमित उपचाररत रहेको निजामती कर्मचारी अस्पतालमा पनि अधिकांश बिरामीलाई अक्सिजनको सपोर्टमा राखिएको छ । अस्पतालको कोभिड युनिटका डा. विदेश विष्टकाअनुसार अक्सिजनमा राखिएको भएपनि उनीहरूको अवस्था पहिलेको लहरमा जस्तो तुरुन्तै अक्सिजन लेभल घट्ने र जटिल प्रकारको भने छैन ।

अधिकांशको घाँटी र शरीर दुख्ने समस्या
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना कोभिड संक्रमित उपचाररत छन् । तीमध्ये कसैमा पनि जटिल प्रकारको समस्या भने नदेखिएको अस्पतालका कोभिड केयर युनिट प्रमुख डा. विमल शर्मा चालिसेले बताए । पहिलेजस्तो हाइ अक्सिजन चाहिने र जटिल समस्या भएका संक्रमित अहिले छैनन् । यो लहरमा भर्ना भएकामध्ये अधिकांशमा घाँटी दुख्ने, हल्का ज्वरो र शरीर दुख्ने समस्या देखिएको डा. चालिसे बताउँछन् ।

कोभिडको पछिल्लो भेरियन्ट ओमिक्रोनको संक्रमणले माथिल्लो श्वासप्रश्वास प्रणालीलाई असर पु‍र्‍याउने विज्ञहरूले बताइरहेका छन् । संक्रामक रोग विशेषज्ञ डा. कोइरालाकाअनुसार ओमिक्रोन संक्रमणले डेल्टा भेरियन्टजस्तो सिधै फोक्सोमा आक्रमण नगर्ने र घाँटी तथा माथिल्लो श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्छ ।

दीर्घरोगी र वृद्ध वृद्धामा बढी जटिलता
पछिल्लो समय काठमाडौंका विभिन्न अस्पतालहरूमा भर्ना भएका कोभिड संक्रमितमध्ये दीर्घरोगी र वृद्धवृद्धालाई भने जटिलता निम्त्याएको देखिएको छ । सिभिल अस्पतालको कोभिड केयर युनिटका डा. विदेश विष्टकाअनुसार दम, मुटु लगायतकाराग भएका विरामीहरूलाई भने संक्रमणले आईसीयू र भेन्टिलेटरसम्म नै पु‍र्‍याएको छ ।

युवाहरूमा पनि अगाडि नै केही दीर्घरोग बोकेर आउने संक्रमितहरूलाई अक्सिजन चाहिने र जटिलता हुने गरेको बलम्बु अस्पतालका कोभिड केयर युनिट प्रमुख डा. प्रवीण नेपालको अनुभव छ । नेपालमा हालसम्मको तथ्यांक हेर्ने हो भने कोभिड संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा ६० देखि ६९ बर्षका नागरिक रहेका छन् । हालसम्म मृत्यु भएका ११ हजार ६२८ जनामध्ये यो उमेर समूहका नागरिक २ हजार ४३६ जना छन् ।

त्यस्तै, ७० देखि ७९ उमेर समूहका २ हजार ३०६ जनाको मृत्यु भएको छ भने ५० देखि ५९ उमेर समूहका २ हजार २५० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यीबाहेक ८० देखि ८९ उमेर समूहका १ हजार ५७३ जना र ४० देखि ४९ उमेर समूहका १ हजार ६ सय ३९ जनाको मृत्यु भएको छ । यीबाहेक अन्य उमेर समूहका व्यक्तिमा मृत्युको संख्या तुलनात्मक रूपमा कम रहेको छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्