नेपाल राष्ट्र बैंकले भर्चुअल तथा क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै बैंकले क्रिप्टोकरेन्सीले नेपालमा कानुनी मान्यता नपाएको जनाउँदै नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले सो कार्य गरेको पाइएमा कारबाही हुने बताएको हो ।
‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैरकानुनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले त्यस्तो कार्य गरे, गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ’, विज्ञप्तिमा उल्लेख छ ।