नयाँ कोरोनाको कहानीः लक्षण हुँदा पनि नेगेटिभ तर नेपालमै विकास हुनसक्छ खतरनाक भेरियन्ट – Janadesh Daily | ePaper

नयाँ कोरोनाको कहानीः लक्षण हुँदा पनि नेगेटिभ तर नेपालमै विकास हुनसक्छ खतरनाक भेरियन्ट


जनादेश वाच।

कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट बच्न मास्क लगाउने र भौतिक दूरी कामय राख्ने विषयलाई अनिवार्य गरे पनि नागरिक स्तरबाट भने बेवास्ता भइरहेको बताएका छन् ।

विशेषगरी भिडभाड अत्यधिक भएका बजार क्षेत्रमा नागरिकहरूको मास्क लगाउने गरेका छैनन् । जान्ने बुझ्नेहरूबाटै स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा अटेरी गर्दा कोरोना संक्रमण नियन्त्रणमा चुनौति थपिने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

कोरोनाको लक्षण तर रिपोर्ट नेगेटिभः डाक्टर अनुप सुवेदी
परिवारका सदस्यकै रिपोर्ट पोजिटिभ हुँदा, आफूलाई पनि कोभिडको लक्षण हुँदा पनि जाँचको रिपोर्ट नेगेटिभ देखिएको छ। कति जनाको पहिले एन्टिजेन टेस्ट गर्दा नेगेटिभ आएपछि पीसीआर गर्दा पोजिटिभ आएको छ। किन?

पहिलेका भेरियण्टको संक्रमणमा लक्षण सुरु हुनु एक-दुई दिनअगावै पीसीआर र एन्टिजेन पोजिटिभ देखिन्थे, किनभने भाइरसको पर्याप्त मात्रा उत्पादन भइसकेको हुन्थ्यो। तर यसपालि त्यस्तो कम देखिएको जस्तो बुझिन्छ।

यसो हुनुको एउटा मुख्य कारण के हो भने यसपालि हामीमा आमरूपले पहिलेभन्दा भाइरससँग लड्ने प्रतिरोधी क्षमता बढी छ- पहिलेको संक्रमण वा खोपको कारणले।

त्यसैले संक्रमणपछि भाइरसले शरीरका कोषिकाहरूभित्र प्रवेश गरेर पहिलेजस्तो सजिलैसँग चाँडो-चाँडो धेरै नयाँ भाइरस उत्पादन गर्न सकेको छैन, त्यसो गर्न केही दिन बढी लागेको छ।

त्यसो हुँदा, घाँटी वा नाकमा परीक्षणले पत्ता लगाउनको लागि भाइरसको पर्याप्त संख्या तयार भइनसकेको रहेछ भने एन्टिजेनले सुरुमा नेगेटिभ देखाउनसक्छ।

अनि एक-दुई दिनपछि फेरि एन्टिजेन वा पीसीआर गर्दाचाहिँ भाइरसको पर्याप्त मात्रा तयार भइसक्ने हुनाले पोजिटिभ देखिन्छ।

ओमिक्रोनको लहरमा एन्टिजेनमा केही दिन ढिलो पोजिटिभ देखिनसक्ने कुरा वैज्ञानिक अध्ययनले पनि पुष्टि गरिसकेका छन्।

यदि टेस्टको नतिजा नेगेटिभ आयो तर तपाईंलाई लक्षण छ वा संक्रमणको शंका छ भने अरूबाट छुट्टै नै बसिरहनुहोला, आफूलाई संक्रमण भएकै बुझेर सावधानी अपनाउनुहोला, स्वास्थ्यको निगरानी पनि गर्नुहोला।

बरू एक-दुई दिनमा फेरि परीक्षण गरेर हेर्नुहोला। कसैको चाहिँ लक्षण देखिएपछि पहिले पीसीआर नै गर्दा नेगेटिभ आएपछि फेरि शंका लागेर एक दिनपछि एन्टिजेन जाँच गर्दा पोजिटिभ आएको छ। वास्तवमा माथि बताइएको कुराले पीसीआर प्रविधिलाई खासै फरक नपार्नु पर्ने हो, तर मैले निकट परिवारमै पनि यस्तै देखेको छु।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै गरिएको जाँचमा ‘फल्स नेगेटिभ’ देखिएकोले जाँचकै गुणस्तरमा प्रश्न उठाउन पनि नमिल्ला। पीसीआरमै यसरी फल्स नेगेटिभ आएको पनि रोग प्रतिरोधी क्षमता बढेकै कारणले भएको हो कि भन्ने कुराचाहिँ यसका विज्ञहरूलाई नै निर्क्योल गर्न अनुरोध गरें।

नेपाल भेरियन्टको चिन्ता
पिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले ओमिक्रोन भाइरस जति धेरै फैलिन्छ, उति नै नयाँ भेरियन्ट बन्ने जोखिम रहेको बताए।

उनले ओमिक्रोनबाट उत्परिवर्तन भएर आउनसक्ने भेरियन्ट ओमिक्रोनभन्दा घातक जटिल प्रकृतिको पनि हुनसक्ने अवस्था रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरे। डा. पौडेलले भाइरसमा छिटो–छिटो उत्परिवर्तन अथवा आनुवांशिक परिवर्तन हुने भएकोले ओमिक्रोन कमजोर भयो डेल्टा भेरियन्टलाई विस्थापित गर्‍यो भनेर ढुक्क हुन नसकिने बताए।

विश्वव्यापी रुपमा अध्ययन गर्दा कोभिड–१९ को महामारी यतिमै सीमित रहने तथ्य स्पष्ट भइनसकेको उनले बताए। अर्को भेरियन्ट यो भन्दा कडा आएमा मात्र ओमिक्रोन विस्थापित हुने उनको भनाइ छ।

उनले भने, ‘विश्वव्यापी तथ्यांकहरुले ओमिक्रोन एकदमै छिटो विगत दुई महिनाको अवधिमा संसारका अधिकांश मुलुकमा फैलिएको र डेल्टालाई विस्थापन गरेको भन्ने जुन तथ्य छ। त्यो सँगसँगै हामीले के बुझ्नुपर्छ भने ओमिक्रोनको नाममा डेल्टालाई विस्थापन गरेपनि यो भाइरस जति धेरै फैलिन्छ, जतिधेरै स्थानमा, धेरै व्यक्तिहरुमा पुग्छ, नयाँ भेरियन्ट बनाउने जोखिम कायमै छ। जस्तो, डेनमार्कको पछिल्लो अध्ययन हामीले हेर्‍यौँ भने यसको पनि सबलिनियज विकास भइसकेको भन्ने छ। किनभने भाइरस निरन्तर विकास भइराख्ने हुने हो। आफ्नो सर्भाइभलको लागि यसले आफ्नो उत्परिवर्तन अथवा आनुवांशिक परिवर्तन गर्छ। त्यो हिसाबले ओमिक्रोनभन्दा पछि आउने भेरियन्ट दुईवटा प्रकारका हुन सक्छन्। एउटा यो भन्दा जटिल हुनसक्छ। कडा हुनसक्छ। अथवा यो भन्दा कमजोर हुनसक्छ। कमजोर हुँदै गयो भने त हामीले सोच्याजस्तै भयो।’

उनले थपे, ‘तर अहिलेकै अवस्थामा कसैले पनि यो पछि आउने भेरियन्ट यो भन्दा कमजोर नै आउँछ भन्ने ग्यारेन्टी दिन सक्ने अवस्था छैन। त्यसकारण विश्व स्वास्थ्य संगठनले पनि यो एन्ड अफ प्यान्डामिक भन्ने बेला भएको छैन। जोखिम कायम नै छ। नयाँ–नयाँ भेरियन्ट आउने जोखिम कायमै छ भनिरहेको अवस्था छ। वास्तवमा यथार्थ पनि यही नै हो। ओमिक्रोनमै गएर यो महामारी सीमित हुन्छ भन्ने तथ्य अझै स्पष्ट भइसकेको छैन। नयाँ भेरियन्ट यो भन्दा आक्रामक भएन भने त्यसले फेरि ओमिक्रोन रिप्लेस गर्न सक्दैन। त्यसकारण यसलाई रिप्लेस गर्न यो भन्दा आक्रामक नै आउनुपर्छ। यो भन्दा कमजोर आयो भने त हामी सबैले सोचेकोजस्तै भयो, महामारीले धेरैलाई दुःख नदेला भन्ने सकारात्मक सोच मात्रै हो। तर भाइरसले कस्तो रुप लिन्छ भन्ने भविष्यको गर्भमै छोडौँ र हामी सचेत रहौँ।’

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्