ओमिक्रोनको आँधीः ९० हजार सक्रिय संक्रमित, ५६ हजार उपत्यकामै, के छ अस्पतालको अवस्था ! – Janadesh Daily | ePaper

ओमिक्रोनको आँधीः ९० हजार सक्रिय संक्रमित, ५६ हजार उपत्यकामै, के छ अस्पतालको अवस्था !


जनादेश वाच।

नेपालमा सक्रिय कोरोनाको संक्रमितको संख्या ९० हजार नाघेको छ। सबै भन्दा बढी सक्रिय संक्रमित काठमाडौँ उपत्यका (काठमाडौं, भक्तपुर, ललितपुर)मा रहेका छन्। उपत्यकामा ६१ दशमलव ९६ प्रतिशत सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

मन्त्रालयको तथ्यांकअनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ। काठमाडौं उपत्यकामा मात्रै ५५ हजार ८०९ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा ४० हजार १२, भक्तपुरमा पाँच हजार ७२८, ललितपुरमा १० हजार ६९ छन्।

सक्रिय संक्रमितमध्ये ८८ हजार २४८ जना होम आइसोलेसनमा छन्। त्यस्तै एक हजार ८१९ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको मन्त्रालयलेले जनाएको छ।

उपचाररत संक्रमितमध्ये २५१ जनानाको आईसीयू र ४८ जनाको भेन्टिलेटरमा उपचार भइराखेको छ। नेपालमा पाँच सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभे्र, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बााँके, रुपन्देही, दाङ, कैलाली गरी १७ पुगेको छ।

त्यस्तै दुई सयमाथि सक्रिय संक्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिराह, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलाख, गोरखा, तनहँु, स्याङ्जा, बाग्लुङ, पाल्पा, दाङ, गुल्मी, सुर्खेत, कन्चनपुरसहित १९ छन्।

के छ अस्पतालको अवस्था
कोभिडको तेस्रो लहरका कारण अधिकांश अस्पतालका स्वास्थ्यकर्मी नै संक्रमित छन् । निको हुनेबित्तिकै सेवामा फर्किरहेका स्वास्थ्यकर्मीले सेवा दिएर पनि भ्याएका छैनन् । डाक्टर, नर्स र सहयोगी कर्मचारी संक्रमित भएपछि प्रभावित बनेको छ। दैनिक कोरोना परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीमा संक्रमण पुष्टि भइरहेको स्वास्थ्य मन्त्रालयको आँकलन छ।
त्रिवि शिक्षण अस्पतालमा करिब दुई हजार पाँच सय स्वास्थ्यकर्मी कार्यररत छन् । तीमध्ये तीन सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको अस्पतालको तथ्याङ्क छ । अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले भने, “स्वास्थकर्मी नै महामारीको चपेटामा पर्दा बिरामीको उपचारमा चुनौती थपिएको छ।”

सरकारले वीर अस्पताललाई केन्द्रीय कोभिड युनिफाइड अस्पताल तोकेको छ। त्यसैले वीरले काठमाडौं उपत्यकाभित्रका १३ ओटा कोभिड अस्पताल र सबै प्रदेशका सात ओटा अस्पतालसँग समन्वय गर्दै आइरहेको छ। अस्पतालमा सय ओटा आईसीयू र सय ओटा एचडीयू छन्। आवश्यक परेको खण्डमा पुरानो वीर अस्पताललाई पनि प्रयोगमा ल्याउने गरी तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।

मीनभवनस्थित नेपाल निजामति (सिभिल) अस्पतालमा १२ माघ बिहानसम्ममा १९० जना स्वास्थ्यकर्मी र सहयोगी कर्मचारीहरू कारोना संक्रमित बनिसकेको अस्पतालका कोभिड फोकल पर्सन डा. विदेश बिष्टले जानकारी दिए।

स्वास्थ्यकर्मीलाई पनि संक्रमित भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि सेवा प्रभावित भएको छ। अस्पतालका निर्देशक डा. रवि शाक्यले कर्मचारीहरू संक्रमित बनेपछि सेवा प्रवाहमा केही चुनौती थपिएको बताए तर पनि अस्पतालले कुनै सेवा कटौती नगरेको जानकारी उनले बताए।

टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार, कोरोना संक्रमण बढ्दै गएपछि अस्पतालमा बिरामीको चाप पनि बढ्दै छ। उक्त अस्पतालले कोभिड महामारीको पहिलो लहरदेखि नै महत्वपूर्ण भूमिका खेल्दैआएको छ ।
६१ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकोमा एक जना पनि अस्पताल भर्ना हुनु नपरेको पनि उनले जानकारी दिए। उनका अनुसार, संक्रमण पुष्टि भएको सात दिनपछि स्वास्थ्यकर्मी पुन: सेवामा फर्किएका छन्।

प्रहरी उपरीक्षक डा. प्रवीण नेपालले दिएको जानकारीअनुसार, सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ११ माघसम्म ९१ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्