स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय अनुसार हराएको २४ लाख डोज खोप खोज्नका लागि गठित छानबिन समितिले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिहरूको विवरण उपलब्ध गराउन सूचना जारी गरेको छ ।
सोमबार एक सूचना जारी गर्दै समितिले स्वास्थ्य सेवा विभाग अन्तरगतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई माघ २१ गते शुक्रबार दिउँसो ३ बजेदेखि ४ बजेभित्र तथ्याङ्क उपलब्ध गराउन निर्देशन दिएको छ ।
२४ लाख डोज खोप हराएको तथ्यांक बाहिरिएसँगै स्वास्थ्य मन्त्री विरोध खतिवडाले आइतबार स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेका थिए ।