एमसिसीमा बाबुरामको एककोहोरो वकलत, मध्यरातमा भीम रावललाई गाली, प्रचण्ड चकित ! – Janadesh Daily | ePaper

एमसिसीमा बाबुरामको एककोहोरो वकलत, मध्यरातमा भीम रावललाई गाली, प्रचण्ड चकित !


जनादेश सोसल मिडिया वाच।
सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसीका पक्षमा एकोहोरो वकालत गरिरहेका छन्। उनले खासगरी सामाजिक सञ्जालमार्फत निरन्तर एमसीसी संसदबाट अनुमोदन गरिनुपर्छ भन्ने तर्क गरिरहेका हुन्।

यसै क्रममा सोमबार मध्यराति पनि उनले एमसीसीका पक्षमा जोडदार अभिव्यक्ति दिएका छन्। उनले एमसीसी सम्झौता नेपालका राजनीतिक दल र यसमा मुख्यगरी कम्युनिस्टका लागि अग्निपरीक्षा बनेको टिप्पणी गरेका छन्।

यस क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले अमेरिकाको पुँजी अछूत हुने भए चीन, भारत र अन्य देशका चाहिँ के गर्ने भनेर प्रश्नसमेत तेर्स्याएका छन्।

‘एमसीसी नेपालका राजनीतिक दल, मुख्यतः कम्युनिस्ट निम्ति निर्णायक अग्निपरीक्षा बन्दै छ। पहिलो– राष्ट्रियता। भारत, चीन र अमेरिकासँग गतिशील सन्तुलन राख्ने कि एकापट्टि आश्रित बन्ने?’, उनले भनेका छन्, ‘दोस्रो– विकास नीति। अमेरिकी अनुदान सहयोग नलिने हो भने डब्ल्यूबी, एडीबी, आईएमएफसँग के गर्ने? अमेरिकी पुँजी अछूत भए चीन, भारत र अन्यका?’

त्यसअघि बाबुरामले भीम रावलप्रति आक्रोश व्यक्त गरेका थिए। आफू प्रधानमन्त्री भएका बेला ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ भन्ने आरोप पुष्टि गर्न नेकपा एमालेका नेता भीम रावललाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनौती दिएका छन्।

एमसीसी पास नगर्न भन्दै नेता रावलले सांसदहरूलाई लेखेको स्मृतिपत्रमा भनिएको छ, ‘हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउन व्यस्त थियौं, बाबुराम (तत्कालीन प्रधानमन्त्री डा. भट्टराई) ले गोप्य रूपमा एमसीसी सम्झौता गर्नुभएको हो। वास्तवमा प्रतिनिधि सभामा पेस भएपछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ।’

यस्तो आरोप लागेपछि डा. भट्टराईले त्यसको स्रोत, मिति र स्थान खुलाउन नेता रावललाई चुनौती दिएका हुन्।

‘यी कण भीम रावलले पीएचडी गरेको गरेको भनेर नाउँको अगाडि ‘डा.’ पनि झुन्ड्याउँछन्! विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत/ मिति/स्थान खुलाउनुपर्छ’, डा. भट्टराईले सोमबार राति सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, ‘उनले दाबी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन? कि यी नक्कली पीएचडी हुन्?’

आश्चर्यमा प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लिएको अडानले आफूहरु आश्चर्यचकित भएको बताइसकेका छन्।

महाधिवेशन सुरु हुनुअघि आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपर्ने सन्भर्दमा डा. भट्टराईले लिएको अडानले आफूहरु आश्चर्यचकित भएको बताएका थिए।

“उहाँ (बाबुराम भट्टराई) ले सर्वदलीय बैठकमा एमसीसी मेरै पालामा अघि बढेको हो र पास गर्नेपर्छ भनेर जिम्मेवारी लिएको देख्दा हामी त हेरेको हेरै भयौँ । बाबुराम जीले किन एमसीसीको स्वामित्व लिन खोज्नुभएको बुझ्न सकिएको छैन्”, प्रचण्डले भनेका थिए ।

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्