शीर्ष नेताहरूलाई कोरोना संक्रमण हुने क्रम बढिरहेको छ।
नेकपा माओवादी केन्द्रका तीन जना नेतालाई कोरोना संक्रमण भएको छ । महासचिवमा दावेदारी समेत प्रस्तुत गरिरहेका नेता वर्षमान पुन र जनार्दन शर्मालाई कोरोना संक्रमण भएको हो । पुनको बिहीबार गरेको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो ।
हाल नेता पुन आइसोलेसनमा रहेको बताइएको छ। त्यस्तै, महासचिवका अर्का दावेदार जनार्दन शर्मालाई पनि कोरोना संक्रमण भएको छ । सरकारका अर्थमन्त्री समेत रहेका शर्मा पाँच दिन अघि गरेको परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उनी मन्त्री क्वार्टरमा आइसोलेसनमा बसेका छन्।
त्यस्तै माओवादीका अर्का नेता गिरिराजमणि पोखरेल पनि केही दिनयता कोरोनाबाट संक्रमित भएका छन्। नेकपा माओवादीले पदाधिकारी चयन गर्न आगामी माघ २७ केन्द्रीय समिति बैठक बोलाएको छ । नेताहरुमा कोरोना संक्रमण देखिन थालेपछि उक्त बैठक अन्योलमा परेको एक नेताले जानकारी दिएका छन् ।