जनादेश सोसल मिडिया वाच।
एमसीसीलाई लिएर सत्ता गठबन्धनभित्रै चर्को मतभेद रहेका बेला अमेरिकाले नेपालमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) रोक्न चीनले खेलिरहेको सिधै आरोप लगाएपछि यसबारे फरक फरक प्रतिक्रिया आएका छन्।
नेपालका शीर्ष नेताहरूलाई वासिङ्टनबाट सिधै फोन गरेर अमेरिकी मन्त्रीले नै एमसीसी सम्झौता नेपालको प्रतिनिधि सभाबाट अनुमोदन हुनबाट रोकेर फिर्ता पठाउन चीनले नेपाली नेताहरूमार्फत खेलिरहेको आरोप लगाएका हुन्।
सम्झौता संसदबाट अनुमोदन गर्न अमेरिकी मन्त्रीले दबाब दिएको भन्दै नेकपा एमालेका नेता भीम रावलले आपत्ति जनाएका छन्। नेता रावलले शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र धम्की दिएकोबारे यथार्थ जानकारी दिन माग गरेका हुन्।
‘शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र धम्की दिएको भन्ने खबर समाचार माध्यममा आएको छ। यसबारे शीर्ष नेताहरूले जनतालाई यथार्थ जानकारी गराउनुपर्छ’, बिहीबार राति रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यदि यसरी धम्की दिइएको भए एमसीसीसँगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानका विरूद्ध भएको थप पुष्टि हुनेछ। ‘अनुदान’ मा धम्की?!’
शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र
धम्की दिएको भन्ने खवर समाचार माध्यममा आएको छ। यसबारे शीर्ष नेताहरूले जनतालाई यथार्थ जानकारी गराउनु पर्छ।यदि यसरी धम्की दिइएको भए एमसीसीसंगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानका विरूद्ध भएको थप पुष्टि हुनेछ।’अनुदान’ मा धम्की ?!— Dr. Bhim Rawal (@BhimRawal179) February 10, 2022
बाबुरामको आफ्नै भाका
एमसिसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विवाद चर्किरहेका बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत, चीनसहित अमेरिकासँग पनि मैत्रीपूर्ण सम्बन्ध राख्नुपर्ने बताएका छन्।
एमसीसी स्वीकार गर्नुपर्छ भन्ने पक्षमा जोडदार वकालत गरिरहेका सत्तारुढ जनता समाजवादी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. भट्टराईले बिहीबार राति सामाजिक सञ्जालमार्फत भारत, चीन, अमेरिका तीनै देशसँग गतिशील सन्तुलनको मैत्रीसम्बन्ध बनाउनुपर्नेमा जोड दिएका हुन्।
‘नेपालमा वैकल्पिक राजनीतिका आधारतत्व यी हुन्’ शीर्षकमा भट्टराईले लेखेका छन् : १. वैज्ञानिक मानवतावादी विचार, २. भारत, चीन, अमेरिकासँग गतिशील सन्तुलनको मैत्री सम्बन्ध, ३. हिमाल, पहाड, तराई/मधेसका सबै जाति/समुदायको पहिचान/अधिकारको रक्षा, ४. पार्टी र सत्तामा समावेशी/सहभागितामूलक लोकतन्त्र, ५. समावेशी/दिगो समृद्धि, ६. सुशासन/सदाचार।
नेपालमा वैकल्पिक राजनीतिका आधारतत्व यी हुन्ः१.वैज्ञानिक मानवतावादी विचार;२.भारत,चीन,अमेरिकासंग गतिशील सन्तुलनको मैत्रीसम्बन्ध;३.हिमाल,पहाड,तराई/मधेसका सबै जाति/समुदायको पहिचान/अधिकारको रक्षा;४.पार्टी र सत्तामा समावेसी/सहभागितामूलक लोकतन्त्र;५.समावेसी/दिगो समृद्धि;६.सुशासन/सदाचार।
— Baburam Bhattarai (@brb1954) February 10, 2022