जनादेश वाच।
तत्कालीन नेकपा माओवादीको नेतृत्वमा १० वर्ष लामो सशस्त्र युद्ध भयो । जसको बलमा मुलुकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीलगायतका ऐतिहासिक परिवर्तन भए । तर व्यवस्था बदलिएपनि परिवर्तनका लागि लड्ने योद्धाहरु र आमनागरिकको अवस्थामा भने सुधार आउन नसकेको आशयसहित ‘पिर’ नाम गीतको म्युजिक भिडियो गायक प्रकाश सपूतले शुक्रबार सार्वजनिक गरे ।
गीत सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता र महिला अधिकारकर्मीले यसको भावप्रति असहमति जनाएका छन्।
माओवादी र माओवादीप्रतिमा आस्था राख्नेहरुले गीतको भिडियोमा तत्कालीन महिला जनमुक्ति सेना यौनकर्ममा लाग्न बाध्य भएको चित्रण गरिएको भन्दै आपत्ति जनाएका हुन् । उनीहरुले सो भिडियो युट्युबबाट हटाउन सपूतलाई चेतावनी नै दिएका छन् ।
गीतका विषयमा अहिले सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस चर्किएको छ । गीतको म्युजिक भिडियोको सुरुमै जनयुद्धका एक घाइते पुरुष योद्धा आफ्नो पारिवारिक जीविका चलाउन काठमाडौंमा मासु पसल चलाउँदै आएको देखाइएको छ । तर, उनको आर्थिक अवस्था राम्रो हुन सकेको छैन । उनको मासु पसल खासै चल्दैन । आन्दानी नहुने हुँदा कोठामा उनको श्रीमतीसँग ठाकठुक पर्छ । उनलाई राम्रो आम्दानी हुने भन्दै विदेश जान सल्लाह जनयुद्धकै घाइते जीवनसंगिनीले दिन्छिन् । तर उनी ‘मर्न परे आफ्नै देशमा मर्ने’ भन्दै विदेश जान तयार नभएपछि श्रीमती नै विदेश जाने निर्णयमा पुग्छिन् । सोही निर्णयअनुसार पासपोर्ट बनाएर उनी विदेशिन्छिन् ।
श्रीमती विदेशिएपछि उनी छोरीसँगै काठमाडौंमा बस्छन् भने तीन महिनासम्म श्रीमतीसँग सम्पर्क हुँदैन । साथीको लहलहैमा लागेर उनी यौनकर्मीकहाँ यौन प्यास मेट्न पुग्छन् । तर घटनाले फरक मोड लिन्छ । अर्थात ती यौनकर्मी महिला अरु कोही नभएर जनयुद्धमा सँगै लडेकी महिला जनमुक्ति सेना थिइन् । उनी बाध्यताले यो पेशामा थिइन् । उतिबेलाकी जनमुक्ति सेना अहिले यस्तो अवस्थामा देखेपछि उनी छाँगाबाट खसेजस्तै हुन्छन् ।
जनयुद्धकै क्रममा श्रीमती विदेश पठाएका युवकको बिहे भएको थियो भने त्यतिबेला भिडियोमा चित्रण गरिएकी यौनकर्मी महिला जनयुद्धका सशक्त योद्धा थिइन् । जतिबेला उनलाई पनि भिडन्तमा गोली लागेका थियो । तर ती जनमुक्ति सेना जस्ता जनयुद्धका होमिएका कयौँ महिलाको शान्तिप्रक्रियामा आएपछि अवस्था दयनीय रहेको भन्ने सन्देश सपूतको गीतमा दिन खोजिएको छ । सपूतको गीतमा प्रयोग भएको सोही दृश्य यतिबेला आलोचनाको विषय बनेको हो ।
यसो त समस्यामा पर्दा उच्च ओहोदामा रहेका तत्कालीन जनयुद्धकै नेताहरुले योद्धाहरुको पीडा नसुनेको सन्देश पनि गीतमा दिइएको छ ।
पुगेको भिडियोमा चित्रण गरिएको छ । उनले भिडियोमार्फत जनयुद्धमार्फत केहीको जीवनस्तरमा परिवर्तन भएपनि योद्धा र जनताको जीवनस्तरमा परिवर्तन नभएको सन्देश दिन खोजेका हुनुपर्छ । तर महिला योद्धाको चरित्रको विषयलाई लिएर विवाद भइसकेकाले यसको जवाफ भने सपूतले दिनुपर्ने भएको छ । पुर्वजनमुक्ति सेनाकी पूर्वकमाण्डर कमला रोकाले जनमुक्ति सेनामा ऐतिहासिक बलिदान, त्याग र सौर्य प्रदर्शन गरेका हजारौं महिलाको अपमान प्रकाश सपूतको गीतले गरेको बताइन् ।
नेपाली समाजमा व्याप्त शोषण, दमन, अत्याचार र उत्पीडनविरुद्ध सुरु भएको जनयुद्धमा ४० प्रतिशत बढी महिलाहरुको संघर्षपूर्ण योगदान रहेको बताउँदै उनले सपूतको गीतले भने जनयुद्धका उपलब्धिलाई पुरै उपेक्षा गरेर अंशलाई नै सत्य बनाएर भ्रम छर्न खोजेको आरोप लगाइन् ।
क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहलगायतका धेरै माओवादी नेता कार्यकर्ताले भिडियोमा समावेश भएको जनयुद्धका योद्धाको चरित्रमाथिको दृश्य हटाउन माग गरेका छन् । अध्यक्ष पञ्चा सिंहले गीतलाई तत्काल हटाउन चेतावनी दिएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘उक्त भिडियो आपत्तिजनक र निन्दनीय छ । दिदीबहिनीहरुमाथि अपमान हुने गरी बनाइएको ‘पिर’ नामक भिडियोबारे सार्वजनिक माफी मागेर तत्काल युट्युवबाट नहटाइए तपाईंको यस्तो गैरजिम्मेवारी हर्कत सहेर बस्न नसक्ने चेतावनी दिन चाहन्छु ।’
माओवादी केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले पनि गीतलाई लिएर आपत्ति जनाएका छन् । उनी लेख्छन्, ‘पिरको परिकल्पनाको समग्र पक्षमाथि राजनीतिको कोण नबनाऊँ तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले देह व्यापारमा लगेर जसरी चित्रण गरेका छन् –त्यो आपत्तिजनक मात्र छैन, दण्डनीय पनि छ ।’
उक्त गीत अहिले नेपालमा युट्युव ट्रेन्डिङको चौंथो स्थानमा छ । १६ मिनेट २५ सेकेन्ड लामो गीतले अहिलेको सत्तारुढ माओवादीले गरेको दशवर्ष लामो सशष्त्र द्वन्द्वको उद्देश्यमाथि प्रश्न गर्छ । गीतको राजनीतिक पक्षलाई लिएर भने माओवादी नेताहरुले विरोध गरेको देखिएको छैन ।
सशस्त्र युद्धमा सहभागी महिला छापामारहरु देह व्यापारमा संलग्न भएको दृश्य चित्रणप्रति उनीहरुको आपत्ति देखिन्छ । गीतमा चित्रण गरिएको यो दृश्यप्रति सामाजिक सञ्जालमा माओवादी दलमा आवद्ध र अन्य महिला अधिकारकर्मीहरूले पनि विरोध गरिरहेका छन् ।