हरेक वर्ष यही समयमा किन धुम्मिन्छ काठमाडौंः घातक धुलीकणबाट कसरी जोगिने, के गर्ने ! – Janadesh Daily | ePaper

हरेक वर्ष यही समयमा किन धुम्मिन्छ काठमाडौंः घातक धुलीकणबाट कसरी जोगिने, के गर्ने !


जनादेश वेदर वाच।
वर्ल्ड एयर क्वालिटीको तथ्यांकअनुसार यो साता विश्वका प्रदूषित सहरहरुको सूचीमा काठमाडौं अग्र स्थानमा रहिरहेको छ । प्रत्येक १५ मिनेटको अन्तरमा परिवर्तन हुने यो सूचकांकले मंगलबार राति काठमाडौंलाई सबैभन्दा प्रदूषित सहर देखाएको थियो । बुधबार मध्याह्नको सूचीमा सबैभन्दा प्रदूषित चीनको वुहान सहर देखिएको छ । त्यसपछि भारतको नयाँदिल्ली, तेस्रोमा पाकिस्तानको कराँची, चौथोमा पाकिस्तानको लाहोर र पाँचौंमा काठमाडौं परेको छ ।

सुख्खा मौसम, आगलागीका घटना, सहरको अति फोहोर र लामो समयसम्म पानी नपर्दा प्रायः वायु प्रदूषण बढी हुने विज्ञहरु बताउँछन् । तर यो साल पोहोरको तुलनामा डढेलो तथा आगलागीका घटना धेरै नहुँदा पनि प्रदूषणले भने खतराको तह पार गरिसकेको छ । मध्याह्न १२ बजेकै रियल टाइम तथ्यांकअनुसार नेपालको तीन ठाउँमा आगलागीका घटना देखिएका छन् । मनाङ र दाङका दुई ठाउँमा आगलागीको घटना देखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना अधिकारी डा. दिजन भट्टराईले जानकारी दिए । अन्यत्र अहिले आगलागीको घटना भएको विवरण छैन ।

वातावरणविद् भूषण तुलाधर वायु प्रदूषणको विभिन्न कारणमध्ये काठमाडौंको फोहोर प्रमुख कारक रहेको बताउँछन् । ‘अहिले तापक्रम नबढेको भएपनि मौसम सुख्खा हुन थालिसकेको छ, पानी पनि परेको छैन यसले पनि प्रदूषण त बढाएको छ,’ तुलाधर भन्छन्, ‘तर लामो समयसम्म काठमाडौंको फोहोर नउठ्नु र कुलेश्वरको फलफूल बजार लगायत वरपर अझै पनि प्रदूषण र फोहोर बढी हुँदा पनि प्रदूषण बढी भयो ।’

मध्याह्न १२ बजे काठमाडौंको प्रदूषणको सूचकांक एक्युआई १६५ पुगेको थियो । र १५० कट्नु भनेको वातावरण अस्वस्थ हुनु हो । वातावरण विभागको तथ्यांकले काठमाडौंको कीर्तिपुरमा पछिल्लो २४ घण्टामा पीएम २.५ को मात्रा ८६ माइक्रोग्राम प्रतिक्युबिक मिटर थियो । अर्थात्, पीएम २.५ भनेको हावामा २.५ माइक्रो ग्रामभन्दा साना प्रदूषित सामग्री मिसिएको भन्ने हुन्छ । यो प्रदूषण बढी घातक हुने वातावरणविद्हरु बताउँछन् ।

सामान्यतया उपत्यका लगायत मुख्य सहरहरुमा यो मौसममा प्रदूषण बढी नै हुन्छ । तर निर्माण सामग्रीको अव्यवस्थित प्रयोगले बजारमा धुलोधुँवा र प्रदूषणको मात्रा पनि बढेको छ । तर यसरी उडेको धुलोमा २.५ पीएमको प्रदूषित मात्रा भने नभेटिने तुलाधर बताउँछन् ।

स्वास्थ्यमा गम्भीर जोखिम
विभिन्न अध्ययनहरुका अनुसार, नेपालमा हरेक वर्ष वायु प्रदूषणका कारण ३७ हजारभन्दा धेरैको ज्यान जान्छ । वायु प्रदूषणले मुटु र फोक्सोका बिरामी, बालबालिका, वृद्धि तथा श्वासप्रश्वासका रोगीलाई थप प्रभावित पार्छ । यसले कोभिड–१९ का बिरामीलाई गम्भीर अवस्थामा धकेल्न सक्ने जोखिम रहेको पनि विभिन्न जानकारहरुले बताउँदै आएका छन्।  विश्व वायुको अवस्था, २०२० प्रतिवेदनका अनुसार, वायु प्रदूषणले मधुमेह, मुटु र फोक्सोका बिरामीमा देखिएको कोभिड–१९ को असरलाई थप गम्भीर बनाउनसक्छ ।

काठमाडौं उपत्यकामा प्रदूषण बढेसँगै रुघाखोकीजस्ता विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ । प्रदूषणकै कारण घाँटीको दुखाइ, छातीको दुखाइजस्ता समस्या देखिने गरेको चिकित्सकहरु बताउँछन् । वायु प्रदूषणका कारण सबैभन्दा धेरै श्वासप्रश्वासका बिरामीलाई समस्या सिर्जना हुने चिकित्सकहरु बताउँछन् । त्यसमध्ये पनि वृद्धवृद्धा, बालबालिका र गर्भवती महिलाहरु प्रदूषणका कारण धेरै बिरामी पर्ने गरेका छन् । वयस्कको तुलनामा उनीहरुमा प्रदूषणको असर छिटो देखिन्छ । प्रदूषणका कारण उच्च रक्तचाप, तनाव बढेर जाने, खिन्नता, मानसिक रोग बढ्नेजस्ता समस्या हुने चिकित्सकहरु बताउँछन् ।

वर्षा नहुँदा प्रदूषण बढेको भएपनि अबको ५ दिनसम्म ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्हरुले जनाएका छन् । यद्यपि बुधबार र बिहीबार बागमती र प्रदेश १ का विभिन्न ठाउँमा आंशिक वर्षाको सम्भावना भने छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेल बुधबार र बिहीबार पनि वाग्मती एवं प्रदेश १ का विभिन्न ठाउँमा आंशिक वर्षा भएपनि ठूलो वर्षाको तत्काल सम्भावना नरहेको बताउँछन् । विभागले बढीमा पाँच दिनको मौसमको पूर्वानुमान गर्नेगर्छ ।

प्रदूषण कम हुनका लागि ठूलो वर्षा आवश्यक पर्छ । पौडेल भन्छन्, ‘आंशिक ठाउँमा वर्षाको सम्भावना छ, तर ठूलो पानीको सम्भावना नरहेकाले अहिले आकाशमा देखिएको प्रदूषण हट्ने सम्भावना कम छ ।’ अहिले बादल जस्तै गरी प्रदूषित वायुले आकाशलाई ढाकेर बसेको छ ।

यस्तो अवस्थामा के गर्ने
वातावरणविद् तुलाधर सरकारले तत्कालै मापदण्डलाई लागू गर्नुपर्ने बताउँदै धुँवा फाल्ने सवारी साधनलाई हिडडुलमा रोक, स्थानीय तहका परिचालनमार्फत आगो र फोहोर बाल्न रोक लगाउनुपर्ने बताउँछन्। “सर्वसाधारण आफैंले सकभर निजी गाडी नचलाउने, आगो नबाल्ने गरेर सहयोग गर्न सक्छन् । अर्कातिर, अत्यावश्यक काम नपर्दासम्म घरबाहिर नजाने र जानै पर्दा मास्क लगाउने गर्नुपर्छ, जसले प्रदूषणको असर कम गर्न सकिन्छ,” उनी भन्छन् ।

त्यसो त, नेपालमा सधैं हिउँद महीनाहरुमा वायु प्रदूषणको जोखिम बढ्छ । पानी कम पर्ने, वायुमण्डलमा हावाका विभिन्न तहको प्रसार कम भएर प्रदूषित हावा चलायमान नभई ठप्प भइराख्ने, आगो बाल्ने गतिविधि आदिका कारण हिउँदमा बढी प्रदूषण हुन्छ।

सबैतिर त्यस्तै

काठमाडौंसंगै भियतनामको हनोई, बंगलादेशको ढाका, भारतको मुम्बई र कोलकाता तथा चीनको बेइजिङ र छोङछिङ अत्यधिक प्रदूषित सहरको सूचीमा अग्रपंत्तिमा छन् ।

वर्षेनी चैत वैशाखको यो अवधीमा कृषि क्षेत्रमा लगाउने आगो र वनजंगलमा लाग्ने डढेलोले वायुप्रदूषण उच्च विन्दुमा पुग्ने गरेको छ । प्रदूषणका कारण मौसम धुम्मिँदा भिजिविलिटि कम भएकाले केही हवाई उडानसमेत प्रभावित भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । गत वर्ष माघदेखि बैशाखसम्म ६ हजारभन्दा बढी आगलागीका घटना भएका थिए । जसका कारण अत्यधिक वायुप्रदूषण भएपछि ४ दिनसम्म विद्यालयसमेत बन्द गर्नुपरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्