सिद्धान्तनिष्ठ नेता क. तुल्सीलाल अमात्य – Janadesh Daily | ePaper

सिद्धान्तनिष्ठ नेता क. तुल्सीलाल अमात्य


हिमबहादुर क्षेत्री :

यही श्रावण १७ गते नेपालको कम्युनिष्ट, लोकतान्त्रिक एवं किसान आन्दोलनका पहिलो पुस्ताका त्यागी एवं आदर्श व्यक्तित्व कमरेड तुल्सीलाल अमात्यको २३ औँ स्मृति दिवस मनाइयो ।

यस अवसरमा उहाँले नेपालको कम्युनिष्ट, लोकतान्त्रिक एवं किसान आन्दोलनमा पुर्याउनुभएको योगदान बारे छोटकरी मै भए पनि चर्चा गर्नु सान्दर्भिक नै ठहर्ने छ । तुल्सीलाल अमात्यको जन्म वि. स. १९७३ साल जेष्ठ १४ गते पाटनको कोबाहल टोलमा भएको थियो । उहाँ २०५४ साल श्रावण १७ गतेका  दिन ८१ वर्षको उमेरमा दिवंगत हुनुभयो । कमरेड तुल्सीलाल अमात्य दिवंगत भएपश्चात् यो २३ वर्षको अवधिमा नेपालको राजनीतिमा अकल्पनीय एवं भीमकाय परिवर्तन भए ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । दुई दुई पटक संविधानसभाको निर्वाचन भयो । नेपालको संविधान २०७४ जारी भइ हाल मुलुकमा नेपाल कम्युनिष्ट (ने.क.पा) नेतृत्वको दुइतिहाई नजिक जनमत प्राप्त जननिर्वाचित सरकारले शासन गरिरहेको छ । यी युगान्तकारी परिवर्तन र उपलब्धि रातारात, अचानक वा छोटो अवधिको संघर्षबाट प्राप्त भएका होइनन् ।

यी परिवर्तन र उपलब्धि कमरेड तुल्सीलाल अमात्य लगायत हजारौँ नेता कार्यकर्ताको संघर्ष, त्याग र सर्मपणको लामो श्रृङखलापश्चात् मात्र सम्भव भएका हुन् भन्ने तथ्यलाई वर्तमान राजनीतिक पुस्ताले कदापि भुल्नु हुदैँन ।

जहाँ एकातिर नेपालको कम्युनिष्ट आन्दोलनले वर्तमान अवस्थामा प्राप्त गरेका उपलब्धिहरु विश्व कम्युनिष्ट आन्दोलन र नेपालको राजनीतिक इतिहासको सन्दर्भमा अद्वितीय छन् । अर्कोतर्फ नीति, सिद्धान्त, आदर्श एवं आचरण तिव्र रुपले स्खलित भइरहेको वर्तमान सन्दर्भमा कमरेड तुल्सीलाल अमात्यले सिद्धान्त र आन्दोलन प्रति दर्शाउनु भएको प्रतिबद्धता, सर्मपण भाव, त्याग, आदर्श, आचरण, जीवनशैली र अध्यनशिलता अहिलेको युवा पुस्ताका लागि एकादेशको दन्त्यकथा जस्तो लाग्न सक्दछ ।

काठमाडौँ उपत्यकाको नेवार समुदायमा जन्मेका र २००१ सालमा नै एम.ए. सम्मको उच्च शिक्षा हासिल गरिसकेका तुल्सीलाल अमात्यले जीवनको सार्थकता खोज्न शहरका ठूलाठूला महलहरुमा नभएर तराइ र पहाडका झुपडीहरुमा बसोबास गर्ने किसानहरु र भारतका विभिन्न शहरहमा चौकीदारी, चपरासी, ड्राइभर जस्ता रोजगारीका लागि विदेशिएका श्रमजिवि नेपाली मजदुरहरु बीच भौतारि रहनुभयो । उनीहरुमा बर्गीय चेतना फैलाउनको लागि अनेकौं दुःख कष्ट झेल्न समेत तयार हुनु भयो ।

राणशासनको समयमा उच्च शिक्षा त परै जाओस् सामान्य शिक्षा समेत हासिल गर्न कठिन थियो । तुल्सीलाल अमात्य पूरै नेपाल अधिराजयभर एमए पास गर्ने दुई चारजना व्यक्तिहरुमध्य पर्नुहुन्थ्यो । यदि उहाँले चाहेको भए उहाँका अगाडि आफ्नो जीवनलाई सुखमय बनाउनका लागि अनगिन्ति अवसर उपलब्ध थिए ।

लखनऊ विश्व विद्यालयमा पढ्दा उहाँले “अंग्रेज साम्राज्यवाद भारत छोड” भन्ने आन्दोलनमा भाग लिइसकेको हुनाले सुरुमा गान्धी र नेहरुबाट प्रभावित भइसक्नु भएको प्रष्ट हुन्छ । अंग्रेजबाट भारत स्वतन्त्र भएको उपलक्ष्यमा नेपालका गान्धिवादी नेता तुल्सीमेहर श्रेष्ठसँग मिली पाटनमा निकालिएको जुलुुसको नेतृत्व गर्दा वहाँ गिरफ्तार हुनुभयो । वहाँलाई कठोर यातनासहित ६ महिनाको जेल सजाय दिइएको थियो ।

२००५ सालमा विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्व र गणेशमान सिंह संलग्न नेपाली राष्ट्रिय काँग्रेसको सदस्यता प्राप्त गरेपछि तुल्सीलाल अमात्यले संगठित राजनीतिक यात्रा प्रारम्भ गर्नुभयो । लगतै उक्त पार्टीको केन्दि«य कार्यकरिणी समितिको सदस्य बनी भूमिगत रुपले राणाविरोधी गतिविधिमा संलग्न हुन थाल्नुभयो ।

काँग्रेस पार्टी र प्रजातन्त्रको पक्षमा ल्याउनको लागि राणा शासकको कडा सुरक्षा घेरामा रहेका राजा त्रिभुवनलाई रातको समयमा नारायणहिटी दरबारको परर्खाल नाघी वार्ता गर्न सफल हुनुभयो । तर यो कुरा राणा शासकले चाल पाएपश्चात् उहालाई गिरफ्तार गर्न बाह्रजना सी.आई.डी. खटाइएको थियो । उहाँलाई गिरफ्तार गर्नेलाई नगद पुरस्कार दिने घोषण समेत गरिएको थियो । तर उहाँ भूमिगत भई गिरफ्तारीबाट बच्न सफल हुनु भयो ।

काँग्रेस पार्टीमा रहँदा नै उहाँले अखिल नेपाल किसान मजदुर संघ बनाउनु भयो । उक्त संगठनको घोषणा पत्रमा सामन्ती जमिन खोसेर खेतहीन र गरिब किसानलाई वितरण गर्ने उल्लेख गरिएकाले मातृकाप्रसाद कोइरालाले उहाँलाई कि किसान मजदुर संघ छोडिदेऊ कि काँग्रेस पार्टी छोडिदेऊ भनेकाले काँग्रेस पार्टी छोड्र्ने निर्णय गर्नुभयो ।

त्यसपछि कलकत्तामा पुष्पलाललाई भेटेर भर्खर मात्र स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नु भयो । २००६ साल भाद्र ३० गते अर्थात १५ सेप्टेम्बर १९४९ मा गठन भएकोे नेपाल कम्युनिष्ट पार्टीको प्रथम केन्द्रिय संगठन समितिको सदस्य बन्नु भयो । उक्त दिनमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषण पत्र जारी गरिएको थियो । उक्त संगठन समितिमा पुष्पलाल, मनमोहन, तुल्सीलाल, डीपी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, भाइसाहेब (अयोध्या सिंह) गरि ६ जना हुनुहुन्थ्यो । यस प्रकार कमरेड तुल्सीलाल अमात्य नेकपाको स्थापना कालदेखि नै नेतृत्वदायी भूमिकामा रहनु भएको प्रष्ट हुन्छ ।

२००७ सालमा राणा, नेपाली कांग्रेस र राजाबीच सम्पन्न भएको त्रिपक्षीय सम्झौताको विरोध गरेको अभियोगमा पार्टीको रक्सौलस्थित कार्यालयमा भारतीय सशस्त्र प्रहरीले घेराउ गरी कमरेड अमात्यलाई गिरफ्तार गर्न सफल भएका थिए । तत्पश्चात् उहाँलाई भारतीय शासकले ८ महिना मोतिहारी र भागलपुर जेलमा बन्दी बनाएका थिए । विक्रम सम्वत् २००८ (ई. १९५१) कलकत्तामा अयोजित पार्टीको प्रथम सम्मेलनबाट उहाँ ने.क.पा.को पोलिटब्यूरोमा छानिनु भयो ।

सन् १९५२ मा नेपालको बारा, रौतहट र सर्लाही जिल्लामा उहाँको नेतृत्वमा विसाल किसान आन्दोलन भएका थिए । उहाँको अगुवाइमा भएको उक्त ऐतिहासिक किसान आन्दोलनमा लगभग ३ लाख किसानको प्रत्यक्ष संलग्नता थियो भने लगभग २० करोड रूपैयाँ बराबरका जाली तमसुक च्यातिएका थिए । त्यस बखत ती जिल्लाका स्थानीय प्रशासक भागेर सिमाना पार भारत पुगेका थिए ।

२०१५ सालमा नेपालमा सम्पन्न पहिलो ऐतिहासिक आम चुनावमा ललितपुरबाट संसद सदस्यमा चुनिन सफल हुनुभयो । २०१५ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले जम्मा ४ स्थानमा विजय प्राप्त गर्न सफल भएको थियो । ती ४ स्थानमध्ये २ स्थान रौतहट जिल्लाबाट प्राप्त भएका थिए । रौतहटमा कमरेड तुल्सीलालले नेतृत्व गर्नु भएको किसान आन्दोलन र संगठन निर्माणमा पु¥याउनु भएको योगदानको कारणले नै रौतहटका २ सिट ने.क.पा. ले प्राप्त गर्न सफल भएको थियो ।

ने.क.पा. को संसदीय दलको नेताको रूपमा तत्काल उहाँले निर्वाह गर्नु भएको ओजपूर्ण भूमिकालाई उहाँका कट्टर विरोधीहरूले पनि स्वीकार गर्ने गर्दथे । गण्डक सम्झौता, विर्ता उन्मूलन र प्रगतिशील मालपोत, भारतबाट वनस्पति घिउको आयातविरुद्ध संसदमा आवाज उठाउँदा उहाँलाई सुरक्षा कानुन अन्तर्गत गिरफ्तार गरी नजरबन्द समेत गरिएको थियो ।

२०१७ साल पौष १ गते नेपालको इतिहासमा कालो दिनको रूपमा अंकित छ । उक्त दिन संसद भंग गरी पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो। राजनीतिक दलका नेतालाई गिरफ्तार गरिएको थियो भने कैयौं नेता भूमिगत हुन वा भारतमा निर्वासित हुन बाध्य भएका थिए । कमरेड अमात्यलाई गिरफ्तार गर्न वारेन्ट जारी गरिएको भए तापनि वहाँ गोप्य रूपले भारत पुग्नु भयो । त्यसको लगत्तै पार्टीभित्र देखा परेको आत्मसमर्पणवादी, राजावादी रुझानविरुद्ध सम्झौताहीन अन्तरपार्टी संघर्ष संचालन गर्नुभयो ।

डा. केशरजंग रायमाझीको नेतृत्वमा रहेको बहुसंख्यक केन्द्रीय सदस्यले २०१७ सालको शाही कदमलाई समर्थन गरी राजा समक्ष आत्मसमर्पण गरेको हँदा कमरेड तुल्सीलाल र कमरेड पुष्पलालले अन्तरजोन सामञ्जस्य समिति गठन गरी यसको आयोजनामा २०१९ सालमा नेकपाको तृतीय महाधिवेशन भारतको बनारसमा सम्पन्न भयो । यस प्रकार पार्टीलाई दरबारमा बुझाउने डा. केशरजंग रायमाझी लगायतका नेताको षड्यन्त्रलाई चकनाचुर पारी पार्टीलाई क्रान्तिकारी धारमा ल्याउन कमरेड अमात्यले ठूलो योगदान पुरयाउनु भएको थियो । तृतीय महाधिवेशनमा उहाँले प्रस्तुत गरेको राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रम अत्यधिक बहुमतले पारित भई उहाँ सर्वसम्मत रूपले पार्टीको महासचिवमा निर्वाचित हुनुभयो ।

भारतमा निर्वासनको अवस्थामा रहँदा प्रवासी नेपालीलाई ने.क.पा. को झण्डामुनि गोलबन्द गर्न एवं देशभित्रका कम्युनिष्ट क्रान्तिकारीसँग सम्पर्क राखी सामन्ती अधिनायकवादी पंचायती व्यवस्था विरोधी आन्दोलनलाई निरन्तरता प्रदान गर्ने कार्यमा अविछिन्न रूपले लागिरहनु भयो । २०३६ सालको ऐतिहासिक जन आन्दोलनको फलस्वरुप जनमत संग्रहको घोषणापश्चात् आममाफी पाएपछि १९ वर्ष लामो भारतको निर्वासित जीवन परित्याग गरी उहाँ स्वदेश फर्कनु भयो ।

नेपाल आगमनको केही समयपश्चात् उहाँलाई कम्युनिष्ट सिद्धान्त प्रचार गरेको अभियोग लगाई १३ दिनसम्म कैद गरिएको थियो । तत्पश्चात् फेरि उहाँलाई २०४२ मा र २०४५ मा पंचायती शासकले गिरफ्तार गरी क्रमशः ५ महिना र ३ महिना जेलमा राखेका थिए ।

नेपालमा बहुदलीय व्यवस्था पुर्नस्थापना गर्ने उद्देश्यले सैद्धान्तिक र राजनीतिक सिद्धान्तको आधारमा विभक्त विभिन्न ७ वटा कम्युनिष्ट (माघ २, २०४५) घटकलाई एक सूत्रमा बाँधी संयुक्त वाममोर्चाको निर्माणमा उहाँको सक्रिय योगदान रहेको थियो । नेपालको कम्युनिष्ट एवं लोकतान्त्रिक आन्दोलनमा कमरेड अमात्यको योगदानको कदर गर्दै उहाँलाई वाममोर्चाको मानार्थ अध्यक्ष बनाइएको थयो ।

२०४६ साल फाल्गुण ७ गतेदेखि सन्चालन भएको ऐतिहासिक जनआन्दोलनको दौरान कम्युनिष्ट पार्टीको रातो झण्डा हातमा लिएर पंचायती शासकलाई चुनौती दिंदै खुल्ला रूपले सडकमा आउने उहाँ पहिलो नेता हुनुहुन्थ्यो । तत्कालै पंचायती शासकले उहाँलाई गिरफ्तार गरी जेल चलान गरेका थिए । जनआन्दोलनको सफलताको फलस्वरूप नेपालमा बहुदलीय व्यवस्थाको स्थापना भएपछि मात्र उहाँ जेलमुक्त हुनु भएको थियो ।

२०५० साल माघ २८ गते कमरेड तुल्सीलाल अमात्यले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी र ने.क.पा. (एमाले) बीचको एकीकरण पश्चात् ने.क.पा. (एमाले) को स्थायी समितिको वरिष्ठ सदस्य बन्नु भयो । नेपालको इतिहासमा पहिलो पटक निर्वाचित कम्युनिष्ट सरकारको पालामा उहाँ चीनका लागि शाही नेपाली राजदुत नियुक्त हुनुभई चीन र नेपाल बीचको मित्रतालाई अझ अघि बढाउन प्रयत्नशील रहनुभयो । उहाँ महान् राजनीतिक विचारक, दार्शनिक र अर्थशास्त्री हुनुहुन्थ्यो । उहाँ आन्दोलनमा निरन्तर समर्पण, निस्वार्थ त्याग, स्वच्छ राजनीतिक मूल्य र मान्यताका लागि जनमानसमा प्रख्यात हुनुहुन्थ्यो ।

राजनीतिक संघर्षको दौरान २००४, २००५ र २०१७ सालमा गरी उहाँको तीनपटक सर्वस्व हरण गरिएको थियो । उहाँले राजनीति, अर्थशास्त्र र दर्शनसम्बन्धी थुप्रै पुस्तकहरू लेख्नु भएको छ । जसमध्ये कुन बाटो, राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रम, नेपालको कम्युनिष्ट आन्दोलनमा देखा परेका मतभेद, नेपालको स्वतन्त्र आर्थिक विकासको बाटो के हो ? बुद्ध, बुद्धत्व र बुद्ध दर्शन, श्री कृष्ण र धर्मको मर्म, आदि प्रमुख छन् । कमरेडतुल्सी लाल अमात्य भावी पिढ़ीका लागि निरन्तर रूपले प्रेरणाको स्रोत रहिरहनु्हुने छ । उहाँ प्रति श्रद्धासुमन !

(लेखक तुल्सीलाल स्मृति प्रतिष्ठानका महासचिव हुन्)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्