जनादेश, काठमाण्डौं । ललितपुर महानगरपालिकाको उपमेयर पाएको गठबन्धनको दल माओवादी केन्द्रले बाबुराजा बज्राचार्यलाई उम्मेदवार बनाउने भएको छ । माओवादी पार्टीको ललितपुर महानगरपालिका कमिटी बैठकले बज्राचार्यलाई उपमेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रका ललितपुर जिल्ला संयोजक शिव कट्टेलले महानगर कमिटीको निर्णयअनुसार बज्राचार्यलाई महानगरपालिका उपमेयरको उम्मेदवार बनाउने बताए । ‘महानगरपालिका कमिटीको सर्वसम्मत निर्णय भएअनुसार बाबुराजा बज्राचार्यलाई ललितपुर महानगरपालिकाको उपमेयर बनाउन सिफारिस भएको छ,’ उनले भने ।
ललितपुर महानगरपालिकाको मेयर कांग्रेसको भागमा परेको छ ।
गठबन्धन दलमा महानगरपालिका भागबन्डा गर्ने क्रममा ललिपुरको मेयर कांग्रेस र उपमेयर माओवादीले लिने सहमति भएको थियो ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ता हुँदैछ । त्यसको चटारो दलहरुले उम्मेदवार धमाधम छनोट गरिरहेका छन् ।