सत्तारुढ पार्टी र सरकार समुद्र मन्थनतिर ! – Janadesh Daily | ePaper

सत्तारुढ पार्टी र सरकार समुद्र मन्थनतिर !


जनादेश दैनिक :

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सरकार अब दुई फरक कित्ताबाट जुहारी खेल्न थालेका छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार अब भ्रष्टीकरणको बाटोतिर अघि बढेको भन्ने सन्देश पत्रकारहरु माझ दिएपछि प्रधानमन्त्रीका सल्लाहार विष्णु रिमालले प्रवक्ताले लाज हराउन भएन भनी सामाजिक सन्जालमा गम्भीर टिप्पणी गरे ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार विधि र पद्दतिअनुसार चल्नुको सट्टा भ्रष्टीकरणको बाटोतिर सोझिनु दुखद् भएको भन्दै यदि सरकारी प्रवृत्तिमा ‘करेक्सन’ भएन भने सरकारमा रहेका नकारात्मक पात्रको भूमिकामा हेरफेर गरिनु पर्ने विचार व्यक्त गरेका थिए ।

त्यसको प्रतिवादमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा स्थायी कमिटी सदस्य विष्णु रिमालले फेसबुक स्टाटसमार्फत् प्रवक्ता श्रेष्ठलाई ‘इनफ इज इनफ’ भन्दै कमसेकम पार्टी प्रवक्ता पदको लाज जोगाउनुस् र विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्नुहोस् भनी सार्वजनिक गरेका थिए ।

पार्टीका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का बीचमा खुलेर कुराकानी हुन नसकिरहेका बखत दोस्रो स्तरका नेताहरुबीचको यो जुहारीले यी दुवै पक्ष खुल्लमखुल्ला रुपमा समुद्र मन्थनमा लागेको जस्तो देखिन थालेको विश्लेषकहरुको राय छ ।

अध्यक्ष ओलीले चलिरहेको वार्ता भाँड्ने गरी सार्वजनिक रुपमा किन बोलेको भनी पार्टी नेता सुवास नेम्वाङमार्फत् अर्का अध्यक्ष प्रचण्डसँग स्पष्टिकरण मागेपछि प्रचण्डले प्रम ओलीले पोलिसी सिफ्ट गरेपछि समस्या सिर्जना भएको कुरा सार्वजनिक गरेका छन् ।

यसले गर्दा सत्तारुढ पार्टीभित्रको मनमुटाव संवादहीनताको अवस्थामा पुगेको देखिन्छ । पार्टी फुट्न पनि नफुट्ने र जुट्न पनि नजुट्ने अवस्थामा पार्टी जीवनका लागि आवश्यक पर्ने अमृत निकाल्नका लागि दुवै पक्ष समुद्र मन्थनमा जाने देखिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्