स्वतन्त्र उम्मेदवार बालेन साह काठमाडौं महानगरपालिकाको मेयरमा विजयी हुने निश्चित भएको छ।
दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुग्दै गर्दा बालेनले आगामी ५ वर्षका लागि काठमाडौं मेयर पद पक्का गरेका हुन्। काठमाडौं महानगरपालिकामा खसेको १ लाख ९१ हजार १२५ मतमध्ये अब १९ हजार ३२३ मत मात्रै गन्न बाँकी छ। यो अवस्थामा बालेनले ५५ हजार ७४७ मतसहित फराकिलो अग्रता बनाइरहेका छन्।
बुधबार बिहानसम्मको मतपरिणाम अनुसार बालेनले ३२ प्रतिशत मत पाउँदै जित पक्का गरेका हुन्। अब १९ हजार ३२३ मत गन्न बाँकी रहँदा उनले दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा २० हजार ३७६ मतले अग्रता बनाएका छन्। काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साहले जीत-हारलाई मतगणना सकिएसँगै सकिन दिनुपर्ने बताएका छन्। जीतको औपचारिक घोषणा हुन बाँकि रहदा शाहले अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म नगर्न आफ्ना समर्थकहरुलाई फेसबुकमार्फत अपील गरेका छन् । समर्थकहरुलाई र्यालीका लागि काठमाडौं नआउन शाहको आग्रह छ ।
काठमाडौंको मेयर पदमा बालेन्द्र र उपमेयरमा सुनिता डंगोलले जीत सुनिश्चित गरिसकेका छन् । शाहले निर्वाचनमा आफूलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद ब्यक्त गर्नुभएको छ । महानगरको नेतृत्वका लागि योग्य ठानेर मतदाताहरुले गरेको विश्वासलाई काममा रुपान्तरण गरेपछि तथा घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन विजय उत्सव मनाउने तर अहिले विजय जुलुसको नाममा अरुलाई पराजित भएको संकेत नगर्न शाहको अपिल छ ।