जनादेश वाच।
नेपालमा सामान्यतया मनसुन जुन १३ मा सुरु हुन्छ । तर, हरेक वर्ष ठिक यही दिन नै मनसुन सुरु हुन्छ भन्ने होइन । यो मितिभन्दा केही दिन तलमाथि हुने गरेको मौसमविद्हरू बताउँछन् ।
यो वर्ष कहिले सुरु हुन्छ त मनसुन ?
जल तथा मौसम विज्ञान विभागले मौसमी प्रणाली अध्ययन भइरहेको जनाएको छ । “हामी अहिले मौसमी प्रणालीको अध्ययन गरिहरेका छौं । केही दिनमा यसबारे जानकारी गराउने छौं,” मौसमविद् विलु महर्जन भन्छिन् ।
सामान्यतः भारतको केरलामा मनसुन सुरु भएको सातदेखि १० दिनभित्र नेपालमा पनि आइपुग्छ । केरलामा मनसुन सुरु भइसकेको छ । “केरलामा मनसुन सुरु भएको तीनदिन भएको छ । अब नेपालमा कति समयमा आउँछ, हामी अध्ययन गरिरहेका छौं ।”
नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपासमा रहेको न्यूनचापीय रेखा तथा पश्चिमी वायुको प्रभाव रहेको छ ।
स्थानीय वायुको प्रभाव रहेको मौसमी प्रणालीमा कुनै पनि समय मौसममा बदली भएर हावाहुरी तथा चट्याङसहित क्षणिक वर्षा हुन्छ । यो मौसमी प्रणालीमा लामो समय पानी पर्दैन।
मनसुन सुरु भएपछि भने लामो समय देशका धेरै स्थानमा झरी पर्छ । झरी पर्दा खोला तथा नदीमा पानीको बहाव बढ्ने तथा बाढी आउने हुन्छ । प्रायः हरेक वर्ष मनसुनमा आउने बाढी तथा तराई क्षेत्रमा हुने ढुबानले ठूलो परिमाणमा धनजनको क्षति हुने गरेको छ ।
१७ लाख मानिस जोखिममा
नेपालमा यसपालि मनसुनमा झन्डै १७ लाख मानिस प्रभावित हुनसक्ने प्रारम्भिक अनुमान गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
बाढी, पहिरो, ठूलो र अविरल वर्षा तथा डुबानले देशका विभिन्न स्थानमा समस्या पर्न सक्ने सम्भावना देखिएको प्राधिकरणका एक अधिकारीले बताए।
यसपालिको मनसुनमा औसतदेखि अधिक वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तो प्रभाव खासगरी तराई क्षेत्रमा बढी पर्ने अनुमान गरिएको छ।