नेपालमा पनि भेटिए मंकीपक्सका शंकास्पद विरामी, यो भाइरस कति जोखिमपूर्ण, कसरी जोगिने – Janadesh Daily | ePaper

नेपालमा पनि भेटिए मंकीपक्सका शंकास्पद विरामी, यो भाइरस कति जोखिमपूर्ण, कसरी जोगिने


जनादेश वाच।
विश्वव्यापी रूपमा फैलिरहेको मंकीपक्स भाइरसका शंकास्पद बिरामी नेपालमा पनि भेटिएका छन्। खाडी मुलुक दुबई हुँदै आएका ज्वरोका बिरामीमा मंकीपक्सको लक्षण भेटिएको हो। बिहीबार १२ बजे टेकु अस्पतालमा २६ वर्षीय एक पुरुषमा यसको लक्षण देखिएको र उनको उपचार गराइएको अस्पतालका निर्देशक डा मनीषा रावलले बताइन्।

उक्त पुरुषमा मंकीपक्ससँग मिल्ने लक्षण देखिएको उनले जानकारी दिइन्। शंकास्पद बिरामीलाई एक सातादेखि ज्वरो आएको र शरीरमा फोकाहरूसमेत देखिएकाले यसलाई मंकीपक्सको लक्षण मान्न सकिने उनको भनाइ छ। उनको स्वाब संकलन गरेर पठाइएको र भोलि (शुक्रबार) सम्म रिपोर्ट आउने डा. रावलले बताइन्। रोग नियन्त्रण महाशाखासँग (इपिडिमियोलोजी) समन्वयमा थप अनुसन्धानका लागि बैठक बसिरहेको उनले जानकारी दिइन्।

ती बिरामीमा तीन महीनादेखि ज्वरो आइरहेको र एक सातादेखि सिकिस्त हुँदै गएपछि उपचारका लागि नेपाल आएका बुझिएको छ। ती पुरुषमा मंकीपक्स भाइरस पुष्टि गर्न पहिला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने र त्यसपछि कहाँ परीक्षण गर्न लैजाने थाहा हुने डा रावलले बताइन्।

मंकीपक्सबारे
पछिल्लो आधिकारिक तथ्यांकअनुसार बेलायतमा बुधबारसम्ममा मंकिपक्सका बिरामीको संख्या ५०० नाघेको छ। यूके हेल्थ सेक्युरिटी एजेन्सीले इंगल्याण्डमा मंकिपक्सका ५२ नयाँ घटनाहरू दर्ता भएको बताएको छ।

स्कटल्याण्डमा एक र वेल्समा एक जना थप संक्रमित सहित बेलायतमा पुष्टि भएका संक्रमित संख्या ५२४ पुगेको छ। इंल्यान्डमा ५०४, स्कटल्याण्डमा १३, उत्तरी आयरल्यान्डमा दुई र वेल्समा पाँच जनामा पुष्टि भएको छ।

कस्ता लक्षण देखिन्छन् ?
– ज्वरो आउने
– टाउको दुख्ने
– शरीरमा बिमिरा देखिने
– शरीर दुख्ने
– थकान महसुस हुने
– जीउ सुन्निने
– ढाड, टाउको र मांसपेशी दुख्ने

यस्ता लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । मंकीपक्स लक्षण देखिएको ५ देखि २१ दिनसम्म निको हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । अरु व्यक्तिमा सर्ने संभावना पनि यही समयावधिमा नै रहन्छ । संक्रमणको जोखिम विशेषगरी बालबालिकाहरूमा देखापर्ने बताइएको छ । मंकीपक्सले सिकिस्त बनाउने र अस्पताल भर्ना हुने सम्भावना कम रहने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९७० मा कंगोबाट सुरु भएको मंकीपक्स संक्रमण त्यसबेला १० वटा अफ्रिकी मुलुकमा फैलिएको थियो । सन् २००३ मा अफ्रिकी मुलुकहरूबाट आयातित कुकुरहरूको माध्यमबाट अमेरिकामा यो संक्रमण फैलिएको थियो । सन् २०१७ मा नाइजेरियामा फैलिएको मंकीपक्सबाट १ सय ७२ जना संक्रमित भएका थिए ।

मंकीपक्स मध्य र पश्चिमी अफ्रिकी देशहरूका घना जंगलमा रहेका जनावरहरूको सम्पर्कमा आउने मानिसहरूमा हुनसक्ने भाइरस हो । संक्रमित बाँदर, मुसा लोखर्केजस्ता जनावरहरूसँग नजिक रहेका व्यक्तिमा मंकीपक्स सर्ने सम्भावना उच्च रहन्छ । ती जनावरहरूको शरीरबाट निस्किएका थुकका छिटा, र्‍याल, तरल पदार्थ आदिबाट सर्छ । मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख, आँखामा भाइरस परे सर्छ । त्यस्तै, संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्ने जनाइएको छ। यसको संक्रमण भएका दशमध्ये एक जनाको ज्यान जान सक्ने वैज्ञानिकहरूको भनाइ छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्