संगीत स्रोतामाथि यौन दुर्व्यवहार आरोप, यस्तो छ उनको प्रतिक्रिया – Janadesh Daily | ePaper

संगीत स्रोतामाथि यौन दुर्व्यवहार आरोप, यस्तो छ उनको प्रतिक्रिया


जनादेश वाच।
कवि तथा पत्रकार संगीत श्रोता (यम क्षेत्री)बाट आफूलाई यौन दुर्व्यवहारमा परेको एकजना लेखकले आरोप लगाएकी छिन्। शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएकी उनले आफूलाई २०७२ सालमा यौन दुव्यर्वहार भएको पुष्टि गरेकी हुन्।

लेखक एवं स्तम्भकार सरिता तिवारीले यौन दुर्व्यवहार भएको दाबी गरेकी हुन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभमार्फत घटनासँग जोडिएका विभिन्न व्यक्तिहरूको नाम लिएकी थिइन् । उनले आफ्नो कविता संग्रहको सम्पादनको क्रममा ०७२ सालमा संगीतले यौन दुर्व्यवहार गरेको बताएकी छन् ।

लेखक तिवारीले घटनामा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईको नामसमेत दिएकी छन् । उनले मानुषी यमीले आफूलाई श्रोताको पक्ष लिँदै दबाब दिएकी बताएकी छन् ।

‘प्रश्नहरुको कारखाना’ कविता संग्रहको सम्पादनको क्रममा ०७२ सालमा संगीतले यौन दुर्व्यवहार गरेको दाबी सरिताले गरेकी छिन्। संगीतले त्यसपछि पनि बेला बेलामा फोन गरिरहने र आफूलाई तनाव दिने गरेको उनले बताएकी छन्।

‘तनाव र ट्रमामा रहेर यतिन्जेलसम्म झेलेर बसेको थिएँ’ उनले लाइभमा भनेकी छन्। कानुन व्यवसायी समेत रहेकी उनी महिला हिंसाविरुद्ध बोल्ने र कलम चलाउने गर्छिन्।

किताब सम्पादन गर्ने बेलामा आफू दुर्व्यवहारमा परेको सुनाएकी लेखकले स्रोता र आफू त्यस दिन एउटै घरको फरक फरक कोठामा सुतेको बताएकी छन्।

तर, बिहान ब्यूझिँदा संगीत आफ्नो कोठामा बेड छेवैमा आएर बसेको आरोप लगाएकी छिन्।

स्रोता ०७६ असार ११ गते राजधानीको प्रदर्शनीमार्गस्थित आरआर कलेज अगाडिबाट पक्राउसमेत परेका थिए।

त्यतिबेला उनी एउटा राष्ट्रिय दैनिक पत्रिकामा कार्यरत थिए।

सडक पेटीमा ‘हिँड्दा हिँड्दै’ पक्राउ परेका स्रोतलाई ‘नचिनेर पक्राउ गरेको’ भन्दै प्रहरीले संस्थालाई जानकारी गराएको थियो।

बिनाकसुर पक्राउ गरिएको विरोधमा कवि, लेखक, पत्रकारले सामाजिक सञ्जालमा विरोध गरेका थिए।

संगीत के भन्छन्?
यस मामिलामा शनिबार साँझ नै संगीतले पनि फेसबुकमा एउटा लामो धारणा सार्वजनिक गर्दै उक्त घटना नै नभएको दाबी गरेका छन्।

उनले आफू महिलामाथि हुने हिंसाविरुद्ध लड्दै आएको पनि बताएका छन्।

‘महिलामाथि हुने कुनै पनि प्रकारका शोषण, हिंसा, विभेद र उत्पीडनका विरुद्धमा म सधैँ प्रतिबद्ध छु’, उनले भनेका छन्, ‘यस्ता आरोप र चरित्रहत्या–प्रयासका बाबजुद पनि उक्त मान्यताबाट म विचलित हुने छैन।’

संगीतले ‘यौन दुर्व्यवहार’को घटना नै नभएको बताएका छन्। ‘यौन दुर्व्यवहारको घटना न भएको हो, न त्यसरी लागेको आरोपलाई मसम्बद्ध संगठनले ‘गुपचुप पार्ने प्रयास’ नै गरेको हो’, उनले अगाडि भनेका छन्, ‘एकजना महिला लेखकले केही साथीलाई फरक–फरक समयमा भेटेर मौखिक रुपमा कल्पित कथासहित सुनाएको र २०७९ असार ९ गते ‘प्रतिरोध’का नाममा घटना केही नलेखी अमूर्त रुपमा ‘यौन हिंसा’ भएको अमूर्त बेहोराको पत्र लेखेको सत्य हो।’

संगीतले २०७२ मा ‘घटना’ भएको भनी आफूमाथि ‘यौन दुर्व्यवहार’को आरोप ती लेखकले लगाएको दाबी गरेका छन्।

‘जुन आरोप पूर्णतः कल्पित, बदलाभावले युक्त, पूर्वाग्रहप्रेरित, राजनीतिक प्रतिशोधयुक्त र झुट्टा हो। मैले त्यस आरोपलाई तुरुन्तै खारेज गर्दै संगठनमा आफ्ना तर्फबाट सत्यतथ्य विवरण पेश गरेको थिएँ’, उनले भनेका छन्, ‘त्यस आरोपबारे तुरुन्तै अध्ययन होस् भनी आफूउपर लगाइएको आरोपलाई नैतिक प्रश्नका रुपमा लिएर तत्काल आफू कार्यकारी रहेको जिम्मेवारीमा नरहने जानकारी गराएको थिएँ।’

संगठनले तत्कालै यसबारे पहल लिई अध्ययन समिति बनाई उनी पीडित हुन् भने ‘सबै न्यायिक प्रक्रियामा साथ दिने’ दृढतासहित उनलाई जवाफ लेखेको पनि संगीतले बताएका छन्।

‘उनले पत्र लेखेको एक साताभित्रै उनकै आग्रहमा, उनले नै अनुरोध गरी बोलाएका केही अग्रजहरूको रोहवरमा बसी दुवै पक्षले यो विषय अब कहिल्यै र कतै पनि नउठाउने सर्तमा टुंगिएको पनि हो’, संगीतले भनेका छन्,’लगत्तै उनले संगठनलाई धन्यवाद दिँदै ‘आफनो जाहेरी पत्र अब निष्क्रिय रहेको’ चिठी लेखेकी छन्।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्