आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना, जनजीवन प्रभावित हुनसक्ने चेतावनी – Janadesh Daily | ePaper

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना, जनजीवन प्रभावित हुनसक्ने चेतावनी


जनादेश वेदर वाच।

देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले जनजीवन प्रभावित हुनसक्ने पूर्वानुमान रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

“नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्नेछ । यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले दैनिक जनजीवन प्रभावित हुनसक्छ । त्यसैले सामान्य सतर्कता अपनाउन सबैमा आग्रह छ,” विभागले भनेको छ । आज बिहान वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यसैबीच, चितवन र आसपासका क्षेत्रका भारी वर्षा भएको छ । चितवनको माडी क्षेत्रको छर्छरे कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा भारी वर्षा भएको वर्षा बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सो क्षेत्र भएर बहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी आउनसक्ने, नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखमले आग्रह गरेको छ ।

चितवनकै शक्तिखोर, पर्साको ठोरी र आसपासका स्थानमा पनि भारी वर्षा भएको छ । र, थप वर्षा हुनसक्ने भएकाले सो क्षेत्र भएर बहने राप्तीलगायत अन्य साना नदीमा आकस्मिक बहाव हुनसक्ने र डुबान भइरहने होचा स्थान र तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाको आग्रह छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्