सामरिक संघर्षः चिनियाँ जहाज श्रीलंका पुग्दा भारत झस्किनुको कारण के, जहाजले के गर्छ – Janadesh Daily | ePaper

सामरिक संघर्षः चिनियाँ जहाज श्रीलंका पुग्दा भारत झस्किनुको कारण के, जहाजले के गर्छ


जनादेश अन्तर्राष्ट्रिय अपडेट।
चीन यसलाई अनुसन्धान जहाज भन्छ। समुद्रमा वैज्ञानिक अनुसन्धान गर्नु यसको काम हो। भारत र अमेरिकाजस्ता देश त्यसलाई जासुसी जहाज मान्छन्। जो अन्य मुलुकको जासुसीमा प्रयोग हुन्छ।

युआन वाङ ५ नामक यो चिनियाँ नौसेनिक जहाज १६ अगस्टमा श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा पुगेको छ। जुन भारतका लागि टाउको दुखाइको विषय बनेको छ। चीनले आवश्यक मालसामानको आपूर्ति गर्न आफ्नो जहाज हम्बनटोटामा रोकिएको र सो जहाजले गर्ने वैज्ञानिक अनुसन्धान अन्तर्राष्ट्रिय कानुनअनुसार भएको बताएको छ।

 यो जहाजको कुनै पनि गतिविधिले अन्य कुनै पनि देशको सुरक्षा र आर्थिक हितलाई प्रभावित नगर्ने चीनको भनाइ छ। तर, हम्बनटोटामा सात दिन रोकिँदा यो जहाजले नजिकैबाट भारतको जासुसी गर्ने मौका पाउने चिन्ता भारतमा व्यक्त हुँदैछ। जसले भारतको सुरक्षा हितमाथि खतरा पैदा गर्न सक्छ।

हम्बनटोटाबाट कति टाढा छ भारत?
श्रीलंकाको हम्बनटोटा बन्दरगाहबाट भारतको चेन्नई बन्दरगाहसम्मको दुरी ९९० किलोमिटर छ। हम्बनटोटाबाट कोची बन्दरगाहको दुरी ११२८ किलोमिटर छ भने विशाखापट्टनमबाट हम्बनटोढा १४८५ किलोमिटर टाढा छ। भारतको सतीश धवन अन्तरिक्ष केन्द्र श्रीहरिकोटा पनि हम्बनटोटाबाट ११ सय किलोमिटर टाढा पर्छ। डेढ अर्ब डलर लागतमा बनेको हम्बनटोटा विश्वको सबैभन्दा व्यस्त बन्दरगाहमध्ये एक हो। तर, निर्माण हुँदैदेखि यो बन्दरगाह विवादित भयो।

पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेको कार्यकालमा बनेको यो बन्दरगाहबाट चिनियाँ सामान मुलुकका अन्य भागमा पुर्याउने योजना थियो। कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको यो बन्दरगाह बनाउन चीनले ऋण दिएको थियो। जसलाई चीनको सरकारी चाइना मर्चेन्ट पोर्ट होल्डिङ्सले बनाएको थियो। यसमा ८५ प्रतिशत हिस्सेदारी चीनको एक्जिम बैंकको थियो।

श्रीलंका सरकारले चीनबाट लिएको ऋण तिर्न सकेन त्यसैले उसले चिनियाँ कम्पनीलाई ९९ वर्षका लागि लिजमा दियो। पछिल्लो पाँच हप्तादेखि युआन वाङ ५ ले हम्बनटोटामा रोकिने अनुमति मागेको थियो। तर, भारत तथा अमेरिकाले आपत्ति जनाएपछि अनुमति दिइएको थिएन।

तर, भारतले चिनियाँ जहाजलाई हम्बनटोटामा रोकिन नदिन श्रीलंकालाई दबाब दिएको कुरा अस्वीकार गरेको छ। जहाज पुगिसकेपछि प्रधानमन्त्री रनिल विक्रमासिंगेले चिनियाँ जहाजलाई सैन्य उदेश्यले हम्बनटोटा बन्दरगाह प्रयोग गर्न नदिइने बताएका छन्।

यो जहाज चीनको पछिल्लो पुस्ताको अन्तरिक्ष निगरानी गर्ने जहाज हो। स्याटलाइट, रकेट र ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको निगरानीका लागि यो जहाज प्रयोग हुन्छ। यो युआन वाङ शृंखलाको तेस्रो पुस्ताको जहाज हो। जुन २००७ देखि चिनियाँ नौसेनाको सेवामा प्रयोग हुन थालेको हो।

सीजीटीएनका अनुसार युआन वाङ ५ २०२० मा लङ मार्च–५बी नामक अन्तरिक्ष यान प्रक्षेपणमा पनि सहभागी भएको थियो। यो ८१ दिनसम्म प्रशान्त महासागरमा २० हजार नटिकल माइल यात्रा गरेर फर्केको थियो। ८१ दिनको यात्रामा यो जहाज कुनै पनि बन्दरगाहमा रोकिएको थिएन।

भारतीय नौसेनाका एक सेवानिवृत्त अधिकारीले नाम नबताउने सर्तमा भने, ‘यो जहाज भारतको नाकैमा आइपुगेको छ। चिन्ता व्यक्त गर्नका लागि भारतसँग पर्याप्त कारण छ।’

‘यसप्रकारका जहाजले अनेक स्तरमा समुद्रको गहिराइ निगरानी गर्छ। जुन गहिराइमा पण्डुब्बी तैनाथ गर्न सकिन्छ,’ उनले सो जहाजको क्षमताबारे भने, ‘पण्डुब्बी तैनाथ गर्ने कुरा पानीमुनिको तापक्रममा भर पर्छ। त्यो तापक्रम लिने काम एक दिनमा हुँदैन। सो तापक्रम महिनौँ लगाएर अलगअलग मौसममा लिइन्छ। हिन्द महासागर क्षेत्रमा यस्तो जहाज महिनौँ रहन सक्छ।’

‘पानीमुनिको तापक्रमको जानकारी लिएर कुन खालको पण्डुब्बी कुन इलाकामा र कति गहिराइमा हुनसक्छ भनेर अनुमान लगाउन सकिन्छ,’ उनले थपे। ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको निगरानी गर्ने यो जहाजको रेडार र सेन्सर अत्यन्त शक्तिशाली भएको उनले बताए।

भारतका लागि कति ठूलो चिन्ता?
भारतको पूर्वी नौसेना कमान्डका पूर्व कमान्डर भाइस एड्मिरल अनुप सिंह भन्छन्, ‘श्रीलंका यस्तो सैन्य जहाजलाई रोकिने अनुमति किन दिइरहेको छ, चिन्ताको विषय यो पनि हो। यो दोहोरो उपयोग गर्न सकिने जासुसी जहाज मानिन्छ। यसले सर्वे जहाजको काम पनि गर्छ, जसले जल सर्वेक्षणको नाममा समुद्रको पिँध नियाल्ने काम पनि गर्छ।’ सिंहका अनुसार जतिबेला हम्बनटोटामा चिनियाँहरुको नियन्त्रण कायम भएको थियो, त्यतिबेला अब चिनियाँ नौसैनिक जहाज र पण्डुब्बीले आराम गर्ने वा इन्धन भर्नेजस्ता कारण देखाएर यो बन्दरगाह प्रयोग गर्ने चिन्ता भारतलाई थियो।

‘चीनले धेरै पटक यो बन्दरगाहलाई जनमुक्ति सेनाको शिविरका रुपमा प्रयोग नगरिने बताएको छ। तर, उनीहरुले भन्ने कुरा र त्यसको अर्थ कसलाई थाहा हुन्छ र,’ उनी भन्छन्। उनले विगतमा पनि चीनले हिन्द महासागरमा यस्ता जहाज पठाउने गरेको बताए।

के यो जहाज अन्तरिक्ष युद्ध तयारीको हिस्सा हो?
अमेरिकी रक्षा मन्त्रालयका अनुसार २०१५ को रक्षा श्वेतपत्रमा चीनले अन्तरिक्ष युद्धलाई एउटा डोमेनका रुपमा उल्लेख गरेको छ। भविष्यमा मुलुकहरुका बीचमा हुने संघर्षमा अन्तरिक्षको महत्वपूर्ण भूमिका हुनेमा चीन स्पष्ट रहेको अमेरिकाको भनाइ छ। त्यस्तो बेला टाढाबाट सटिक निसाना लगाउने र विपक्षी सेनाको सञ्चार क्षमता ध्वस्त पार्न जोड दिइनेछ। चिनियाँ सेनाको सबै अन्तरिक्षसम्बन्धी गतिविधिका लागि उसको स्ट्राटेजिक सपोर्ट फोर्स जिम्मेवार छ। जसमा अन्तरिक्ष प्रक्षेपण, निगरानी र युद्ध सामेल छन्। चीनको अन्तरिक्ष प्रणाली विभागले कम्तीमा आठ स्टेसन सञ्चालन गरिरहेको अमेरिकाको भनाइ छ। चीनको स्ट्राटेजिक सपोर्ट फोर्सले नामिबिया, पाकिस्तान र अर्जेन्टिनामा आफ्नो गतिविधि सञ्चालन गर्ने गरेको अमेरिकाले जनाएको छ। यही स्ट्राटेजिक सपोर्ट फोर्सले स्याटलाइट र ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणलाई निगरानी गर्न यो जहाज सञ्चालन गर्ने गर्छ। बीबीसी।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्