काठमाडौँ महानगरले नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्सको भवनमा डोजर चलाएको छ ।
काठमाडौँका मेयर बालेन्द्र साहसहित पुगेको टोलीले अल्फा बिटाको अवैध संरचनामा डोजर चलाएको हो । उक्त कम्प्लेक्सले नक्सामा भए अनुसारको संरचना निर्माण नगरेको र पार्किङ समेत सडक पेटीमै गराउँदै आएको महनगरले जनाएको छ ।
यसअघि, बिहान सो संरचना हटाउन डोजरसहित कम्प्लेक्समा पुगेका मेयर साह र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच चर्काचर्की परेको थियो । बिहान भएको चर्काचर्किमा निर्देशक शर्माले मेयर साहलाई नक्सा लिएर आउँन चुनौती दिएका थिए ।
दुई पक्षबीच भएको चर्काचर्कि पश्चात उक्त कम्प्लेक्सको नक्सासहित पुनः बानेश्वर पुगेर मेयर साहले अवैध संरचनामा डोजर चलाएका हुन् । साहले भवनको नक्सा मागेसँगै कार्यालयमा गई नक्सा र डोजरसहित फर्किएर रितपूर्वक काम गरेको बताएका छन् ।
“उँहाले आफ्नै नक्सा मलाइ माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गए । मैले के बिराए ” उनले भने ।
साहले ३५ दिने सूचना जारी गर्दा समेत रमिता हेरेर बसेका अवैध संरचना भत्काउने अभियान चलाइएको समेत घोषणा गरेका छन् ।
“अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला” उनले आग्रह गरेका छन् ।