जनादेश वेदर वाच।
काठमाडौंका केही स्थानमा भारी वर्षा भएको छ । वर्षा हुने क्रम अहिले पनि जारी रहेकोले बिहान ८ बजेसम्म नदी तटीय क्षेत्रका बासिन्दालाई सतकर्तता अपनाउन जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी सूचना केन्द्रले आग्रह गरेकाे छ ।
केन्द्रका अनुसार विष्णुमती जलाधार क्षेत्रको जितपुर र आसपासमा बिहानदेखि भारी वर्षा भइरहेको छ । यस्तै बल्खुखोलाको जलाधार क्षेत्रमा पनि भारी वर्षा भएको छ । विष्णुमती र बल्खु खोलामा जल सतह सतर्कता तह आसपास पुगेको छ ।
‘विष्णुमती र बल्खु नदीको पानी किनारको सडक र बस्तीमा जान सक्छ । बिहान ८ बजे सम्म किनारको सडकमा यात्रा गर्दा सतर्कता अपनाऔँ’, केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।
काठमाडौंसहित देशैभरि सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ । आज दिउँसाे देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।
बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।