जनादेश सोसल मिडिया वाच।
नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले अब सबैले गम्भीर निर्णय लिने बेला आएको बताएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा लेखेर झाँक्रीले यो निर्वाचन आजसम्मको इतिहासको एउटा समीक्षा भएकाले गम्भीर निर्णय लिने समय भएको बताएकी छिन्। उनले अबको निर्वाचनपछि देशले कुन दिशा लिन्छ भन्ने कुराको निर्क्योल गर्ने पनि बताएकी छिन्।
नेकपा एमालेका सचिव गोकर्ण विष्टसँग चुनाव लड्ने तयारी गरेकी झाँक्री यतिबेला गुल्मी क्षेत्र नम्बर २ का गाउँ गाउँमा डुलिरहेकी छिन् । उनले गुल्मीमा एउटा विरासत तोड्न जरूरी रहेको पटक पटक दोहोर्याउँदै आएकी छिन् ।
तर गुल्मी क्षेत्र नम्बर २ मा आफ्नै उम्मेदवार बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेताहरुले दबाब बढाएका छन्। यही विषय गठबन्धनको बैठकमासमेत प्रवेश पाएको छ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले पनि गुल्मी २ दाबी गरेको छ। सचिव रामकुमारी झाँक्री उक्त क्षेत्रबाट उठ्न चुनावको तयारीका लागि अहिले मतदाता भेटघाट अभियान तीव्र पारिरहेकी छन्। तर, ४ गाउँपालिका जिताएकोले गुल्मी २ छोड्न नहुने भन्दै लुम्बिनीका माओवादी नेता र कार्यकर्ताले प्रचण्डलाई दबाब दिएका छन्।
आइतबार पनि केही नेताहरुले खुमलटार निवासमा पुगेर गुल्मी २ बाट उम्मेदवार बनाउन प्रस्ताव गरेका छन्। बिहीबारअघि गुल्मीमा माओवादीले संघमा दाबी गरेको थिएन। १ नम्बर क्षेत्र कांग्रेसले दाबी गरेको छ। तर, प्रचण्डले यसबारे मुख खोलेका छैनन्।